काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले समाधानका उपायसहितको प्रतिवेदन पेस गर्ने बताउनुभएको छ ।
उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग सदन खोल्न भएको सहमतिअनुसार नै उच्तस्तरीय छानबिन समिति गठन गरिएको बताउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा उच्चस्तरीय छानबिन समिति गठनबारे जानकारी दिँदै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समितिले काम गर्ने बताउनुभयो ।
अध्यागमनमा विगतदेखि नै केही समस्या देखिँदै आएको र अहिले पनि त्यो समस्या कायमै रहेकाले अब सबै समस्याको पहिचान गरी समाधान गर्न समिति गठन गरिएको दाबी गर्नुभयो ।
अध्यागमन प्रणालीसाग सम्बन्धित विषयमा देखिएका समाधान गर्न पूर्वमुख्यसचिव शंकरदार बैरागीको संयोजकत्वमा गठित ७ सदस्यीय समितिलाई तीन महिनाको कार्यादेश दिइएको छ ।
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई अस्वीकार गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद स्वणिर्म वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता देखिएको आरोप लगाउँदै अहिले गठन भएको समितिलाई अस्वीकार गर्ने बताउनुभयो ।
समितिका पदाधिकारीको पुनरावलोकन नभएसम्म आफ्नो पार्टीले आन्दोलन जारी राख्ने चेतावनी उहाँले दिनुभयो । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले पनि गृहमन्त्रीकै प्रस्तावमा गठन गरिएको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने सत्तारूढ दलसँग भएको दुई बुँदे सहमतिअनुसार नै समिति गठन गरिएको भन्दै स्वागत गरेको छ ।
प्रतिनिधि सभा बैठकमा अहिले मन्त्रालयगत बजेटमाथि उठेको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिँदै छन् । सरकारले विनियोजन विधेयक आजै पारित गर्ने तयारी गरेको छ ।