काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र इटालियन क्लब युभेन्टसका खेलाडीबीच हृ्वाइट हाउसमा एक असहज भेट भएको छ ।
यो भेटमा राष्ट्रपति ट्रम्पले खेलमा, ट्रान्सजेन्डर महिलाको सहभागिताको विषयलाई बहसमा ल्याउने प्रयत्न गरे । इटालियन जायन्टस युभेन्टस फिफा क्लब विश्वकपका लागि अहिले अमेरिकामा छ ।
अमेरिकाका टिमोथी वेह र वेस्टन मेक्केन्नीसहितको युभेन्टस स्क्वाड ट्रम्पलाई भेट्न हृवाइट हाउस पुगेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि यो भेटमा सहभागी थिए ।
युभेन्टसका खेलाडी ट्रम्पको कुर्सीभन्दा पछाडि उभिएका थिए । भेटवार्ताको समयमा ट्रम्पले युभेन्टसका खेलाडीलाई ट्रान्सजेन्डर महिला खेलाडीको सहभागीताका विषयमा के छ विचार भनेर सोधेका थिए ।
उनले युभेन्टसको पुरूष टिममा महिला खेलाडीले प्रवेश पाउन सक्छन् भन्दै प्रश्न पनि गरे । केही नर्भस देखिएका खेलाडीले अनुहारमा झुटो हाँसो देखाए । कुनै जवाफ भने दिएनन् । तर ट्रम्पले पुन यही प्रश्न गरे ।
त्यसपछि युभेन्टसका जनरल म्यानेजर डेमिन कोमोलीले युभेन्टसमा उत्कृष्ट महिला टिम रहेको लगायत महिलाको शसक्त उपस्थितिबारे ट्रम्पलाई जानकारी गराएका थिए ।
ट्रम्पले उनीहरूले महिलासँग नै खेल्नु पर्छ भन्दै प्रश्न गरे । यो पटक भने डेमिनले जवाफ नफर्काउने निर्णय लिए । ट्रम्पले गत फेब्रुअरीमा खेलमा ट्रान्सजेन्डर महिलालाई खेलमा रोक लगाउन आदेश दिएका थिए । जसको आलोचना भइरहेको छ ।