काठमाडौं । क्लब विश्वकप अन्तर्गत समूह 'एच' को खेलमा आरबी साल्जबर्गले मेक्सिकन क्लब पाचुका विरूद्ध २-१ को रोमाञ्चक जित हासिल गरेको छ । जितले साल्जबर्गलाई समूहको शीर्ष स्थानमा पुर्याएको छ ।
अस्ट्रियाको क्लब साल्जबर्गका लागि पहिलो गोल ओस्कार ग्लोखले गरे । उनले खेलको ४२औं मिनेटमा डेडलक तोडेका थिए । भीषण मेघगर्जनका कारण दोस्रो हाफ सुरु हुनु अगाडि झण्डै ९० मिनेट खेल रोकिएको थियो ।
खेल पुनः सुरू भएपछि, ५६औं मिनेटमा पाचुकाका ब्रायन गोन्जालेजले उत्कृष्ट फ्रिकिकमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए । तर, ७६औं मिनेटमा वैकल्पिक खेलाडी करिम ओनिसिवोले हेडमार्फत् निर्णायक गोल गर्दै साल्जबर्गलाई तीन अंक दिलाए ।
यो जितसँगै साल्जबर्ग समूह 'एच' को शीर्ष स्थानमा उक्लिएको छ । आज बिहानै सम्पन्न यसै समूहको अर्को खेलमा रियाल मड्रिड र अल हिलालले १-१ को बराबरी खेलेका थिए ।