काठमाडौं । नेपाल पुलिस क्लब र न्यु डायमन्ड प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बुधबार भएको खेलमा न्यू डायमन्ड युथ स्पोर्टस् क्लबले घरेलु टिम गन्डकी प्रदेशमाथि सोझो सेटकै जित हात पारेको हो ।
उसले पहिलो सेट सहजै २५-८ ले जितेको थियो । दोस्रो सेटमा गन्डकीलाई २५-१० ले पराजित गर्यो । फितलो प्रदर्शन गरेको गन्डकीलाई हराउन न्यू डायमन्डलाई त्यति धेरै मेहनत गर्नु परेन । यो सेट २५-१२ ले जितेपछि न्यूडायमन्ड अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पुलिसले स्टेप रामपुरलाई ३-०को सोझो सेटमा पराजित गरेको हो । बलियो पुलिस विरूद्ध रामपुर सुरूवातदेखि नै कमजोर देखिएको थियो । एकपक्षीय खेलको पहिलो सेट पुलिसले २५-७ ले आफ्नो पक्षमा पार्यो ।
बाँकी दुई सेटमा पनि रामपुरले चुनौती पेश गर्न सकेन । दोस्रो सेटमा पुलिस २५-९ ले विजयी भएको थियो । तेस्रो सेटमा पुलिसले रामपुरलाई २५-९ लै हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
जारी प्रतियोगितामा पुलिसले लगातार दोस्रो जित हात पारेको हो । यसअघि हिजो भएको खेलमा एपीएफ क्लबलाई चार सेटमा पराजित गरेको थियो ।