काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका आयोजनाहरूमा भइरहेको ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गर्नुभएको छ । आइतबार मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा आयोजनाको लागतको १० प्रतिशत हुने भए पनि विकास निर्माणमा ढिलाइ हुँदा आयोजनाको शतप्रतिशत मूल्य बढ्ने गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रणमा मात्र नभई ढिलासुस्ती नियन्त्रणमा गम्भीर रहेको बताउनुभयो । उहाँले यो समय प्रविधि र एआईको समय भएको उल्लेख गर्दै बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणका कामलाई रकेट चालमा सम्पन्न गर्न सरकार लागिपरेको समेत उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती हो । भ्रष्टाचार गर्नेले १० प्रतिशत गर्ला । तर ढिलासुस्ती गर्दा त्यो आयोजनाको मूल्य नै शतप्रतिशत बढ्छ । एकातिर आयोजनाको मूल्य शतप्रतिशत बढ्छ अर्कोतिर हजारौं प्रतिशत उपलब्धि गुमिरहेको हुन्छ । त्यस कारण भ्रष्टाचार नियन्त्रणमा मात्रै ध्यान दिने होइन । ढिलासुस्ती नियन्त्रणमा पनि सरकारको कडाइका साथ ध्यान जानेछ । यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामी चाहिँ बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुँदैन । त्यस कुरामा सरकारको ध्यान गएको छ ।”
उहाँले मधेश प्रदेश निर्माणाधीन क्रिकेट रंगशालाहरू सम्पन्न गर्नको लागि समेत सरकारले योजना बनाइरहेको बताउनुभयो ।