राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

जेष्ठ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयाेजित भाेटाेजात्रामा सरिक भई उहाँले साे जात्रा अवलोकन गर्नुभएको हो ।

गुठी संस्थान ललितपुरका कर्मचारीले साे भाेटाे देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.