शीर्ष पाँचमा रहँदै लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासलले टुंग्याए ईपीएलको सिजन

जेष्ठ १२, २०८२ |खेल ब्युरो
शीर्ष पाँचमा रहँदै लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासलले टुंग्याए ईपीएलको सिजन

काठमाडौं । इङ्लिस प्रिमियर लिग २०२४/२५ को सिजन समाप्त भएसँगै लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । टोटनहमले युरोपा लिगको च्याम्पियनका रुपमा च्याम्पियन्स लिग खेल्नेछ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई २-० गोलले पराजित गर्दै तेस्रो स्थानमा रहेर लिग समाप्त गरेको छ । खेलको २१औं मिनेटमा गुन्डोगानले गोल गरेपछि भ्रमण टोली सिटीले सुरुवाती अग्रता लिएको थियो । ७२औं मिनेटमा एर्लिङ हाल्यान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई २-०को जित दिलाए । सिटीले ३८ खेलमा २१ जितसहित ७१ अंक जोड्यो । ५४ अंकसहित फुलह्याम ११औं स्थानमा रह्यो ।

अर्को खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई १-० गोलले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गर्‍यो । ६९ अंकसहित चेल्सी चौथो स्थानमा रह्यो । न्युक्यासल, एर्भटनसँग १-० ले पराजित भयो । हारका बाबजुद ६६ अंकसहित पाँचौं स्थानमा रहँदै न्युक्यासल च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।

शीर्ष पाँच टोली र युरोपा लिग च्याम्पियन टोटनहम गरी प्रिमियर लिगका ६ टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् ।

यसैगरी, मोहम्मद सलाहले अन्तिम समयमा गोल गरेपछि लिभरपुलले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै इंग्लिस प्रिमियर लिगको यो सिजन टुंग्याएको छ ।

एनफिल्डमा घरेलु टोली नवौँ मिनेटमै पछि परेको थियो । इस्माइला सारले एलिसनलाई छक्याउँदै प्यालेसलाई अग्रता दिलाएका थिए ।

लुइस डियाज र डिओगो जोटाले गोल गर्ने राम्रो अवसर पाए पनि कन्भर्ट गर्न सकेनन् । ७०औं मिनेटमा रायनलाई रातो कार्ड देखाइएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । 

तर, पनि लिभरपुलले लगातार आक्रमण जारी राख्यो र अन्ततः इन्ज्युरी समयमा गोल गर्न सफल भयो । योसँगै सलाहले लिगमा कुल २९ गोल र १८ असिस्ट गरे । जुन प्रिमियर लिगको एकै सिजनको कीर्तिमान बराबरी हो । लिभरपुलले यस सिजन २३ खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्‍यो । जुन लिगमा सबैभन्दा धेरै हो । खेलपछि लिभरपुलाई ट्रफी प्रदान गरिएको थियो ।