आईपीएल : लिगको अन्तिम खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो

जेष्ठ १२, २०८२ |खेल ब्युरो
आईपीएल : लिगको अन्तिम खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध १ सय १० रनको फराकिलो जित हात पारेको छ ।

हैदराबादका लागि यो आईपीएल इतिहासकै दोस्रो ठुलो जित हो भने रनअन्तरका आधारमा कोलकाताको सबैभन्दा ठुलो हार ।

अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ७८ रनको विशाल योगफल तयार पारेको थियो । यो आईपीएल इतिहासकै तेस्रो ठुलो योगफल हो । 

हैदराबादका लागि ट्राभिस हेडले ७६ रनको योगदान दिए । अभिषेक शर्माले ३२ र इशान किशनले २९ रन जोडे । अनिकेत वर्माले अविजित १२ रन बनाए । हेनरिक क्लासेनले ३९ बलमा अविजित १ सय ५ रनको शतकीय इनिङ खेले । उनले ७ चौका र ९ छक्का प्रहार गरेका थिए । कोलकाताका सुनिल नारिनले २ तथा वैभव अरोराले १ विकेट हात पारे ।

जवाफमा २ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ६८ रन मात्र बनाउन सक्यो । मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए । हषिर्त रानाले ३४ तथा सुनिल नारिनले ३१ रन बनाए ।

हैदराबादका जयदेव उनादक, हर्श दुवे र इशान मलिंगाले समान ३-३ विकेट लिए ।

जितसँगै हैदराबादले १४ खेलमा १३ अंकसहित सिजन समाप्त गरेको छ । साविक विजेता कोलकाताले भने १४ खेलबाट १२ अंक जोड्यो ।

हिजै सम्पन्न पहिलो खेलमा चेन्नईले गुजरातलाई ८३ रनले पराजित गरेको थियो ।

अब आईपीएलमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा भोलि लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।