भारतको उत्तराखण्डको बाढीपहिरोमा सल्यानका तीनजना बेपत्ता

भाद्र १८, २०८२ |सरिता चलाउने
भारतको उत्तराखण्डको बाढीपहिरोमा सल्यानका तीनजना बेपत्ता

सल्यान । भारतको उत्तराखण्ड रूद्रप्रयाग जिल्लाको पुर्वी बागर छेनागाडमा गत शुक्रबार बिहान आएको बाढी पहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन । 

बेपत्ता हुनेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका-६ कालागाउँ निवासी वर्ष ४९ का सरद आग्री र उनका २४ वर्षका छोरा दिपक आग्री रहेका छन् । यस्तै वडा नम्बर ५ राउचका ६९ वर्षका भिमबहादुर बुढा पहिरोमा परि  बेपत्ता भएको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बिसीले बताउनुभयो। उहाँका अनुसार उनीहरू रोजगारीको सिलसिलामा १६ साउनमा सल्यानबाट भारत गएका थिए ।

आफ्ना वडाका स्थानीय पहिरोमा परि बेपत्ता भएको खबर उनको परिवारबाट जानकारी पाएको बताउनु भयो । बिहान ३,४ बजेको समयमा लेदोसहितको पहिरो आएको बुझिन्छ, वडा अध्यक्ष बिसिले भन्नुभयो ,'उनीहरु सुतिरहेको हुनले थाहा पाएनन, पहिरोले उनीहरू बसेको बस्ती नै पुरेको भन्ने खबर छ ।' 

उक्त पहिरोमा ४ जना नेपाली र ४ जना भारतीय बेपत्ता भएको खबर पाएको वडा अध्यक्ष बिसीले बताउनुभयो । अर्का नेपालीको परिचय खुल्न सकेको छैन , उनी जुम्ला तिर घर भएको त्यहाँका नेपालीले खबर पठाएको बताउनु भयो ।

त्यहाँ रहेका नेपालीहरूले उनीहरु बेपत्ता भएको खबर गरेपछि खोजीको लागि बेपत्ता भएको ठाँउमा पुगेको भिमबहादुर छोरा सुरेश बुढाले बताउनु भयो । पहिरो गएको स्थान विकट अप्ठ्यारो गाउँमा भएकाले खोजिकार्य गर्न कठिनाइ भएको बताउनु भयो ।

बेपत्ता भएको चार दिनसम्म पनि कुनै सम्पर्कमा नआएपछि घर फर्किन लागेको उहाँले बताउनु भयो । घरमा आएर काजकिरिया उठाउने तयारी गरेको परिवार स्रोतले जनाएको छ ।

१२ भदौको राति भारतको उत्तराखण्ड रूद्रप्रयाग जिल्लाको पुर्वी बांगर छेनागाड अतिवृष्टि भएको थियो । वर्षाका कारण बाढी-पहिरो जाँदा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । खासगरी रूद्रप्रयाग जिल्लाको पूर्वी बागर क्षेत्रमा पहिरोका कारण छेनागाडको एउटा गाउँमा ठुलो क्षति भएको छ ।

वर्षासँगै १३ भदौ बिहान पहाडबाट आएको लेदोसहितको बाढीले त्यहाँका १५ भन्दा धेरै पसल घर बगाएको थियो । यस क्रममा कम्तिमा आठजना बेपत्ता भएका थिए, जसमा चारजना नेपाली र ४ जना भारतीय छन् ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।