हल जुनियरलाई ओलम्पिक पदकहरूको प्रतिलिपी प्रदान

वैशाख २३, २०८२ |खेल ब्युरो
हल जुनियरलाई ओलम्पिक पदकहरूको प्रतिलिपी प्रदान

काठमाडौं । तीन भिन्न-भिन्न संस्करणको ओलम्पिक पदक विजेता हल जुनियरलाई उनको १० वटा ओलम्पिक पदकहरूको प्रतिलिपी प्रदान गरिएको छ । उनका पदकहरू जनवरीमा लस एन्जलसमा फैलिएको डढेलोका कारण नष्ट भएका थिए ।

स्विजरल्याण्डको लोजानमा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमीटी-आईओसीको मुख्यालयमा आयोजित समारोहमा अध्यक्ष थोमस बाखले ती पदकहरू जुनियरलाई हस्तान्तरण गरेका हुन् ।

हलले सन् १९९६, २००० र २००४ का ओलम्पिकमा अमेरिकाको प्रतिनिधित्व गर्दै ५ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेका थिए । ५० वर्षीय हलले डढेलोबाट पदकहरू जोगाउन नसकेको बताए । 

उक्त डढेलोले कम्तीमा २९ जनाको ज्यान लिएको थियो । यस घटनालाई अमेरिकाको इतिहासमै सबैभन्दा महँगो प्राकृतिक विपत्ति मानिएको छ । लस एन्जलसले आगामी २०२८ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्नेछ ।