नटिङ्घम फरेस्ट च्याम्पियन्स लिगको दौडमा यथावत

वैशाख २३, २०८२ |खेल ब्युरो
नटिङ्घम फरेस्ट च्याम्पियन्स लिगको दौडमा यथावत

काठमाडौं । क्रिस्टल प्यालेससँग १-१ को बराबरीमा रोकिएपनि नटिङ्घम फरेस्टले आफुलाई च्याम्पियन्स लिगको दौडमा यथावत राखेको छ ।

पहिलो हाफमा गोल हुन नसक्दा दुबै टिमले प्रभावहीन प्रदर्शन गरे । प्यालेसका मिचेलले उत्कृष्ट क्रसमा अनमार्कड खेलाडी ड्यानियल मुन्होजको भलि गोलकिपर माट्ज सेल्सले रोके । फरेस्टलका एन्टोनी एलाङ्गाले काउन्टर-एट्याकमा राम्रो मौका पाएपनि गोल गर्न सकेनन् । 

मुन्होजले फरेस्टका क्रिस वुडलाई तानेपछि उनले पेनाल्टीको माग गरेका थिए । तर रेफ्रीले अपिल अस्वीकार गरे । भिएएआरले पनि रेफ्रीकै निर्णयलाई समर्थन गर्‍यो ।

दोस्रो हाफमा खेल केही रोमाञ्चक बन्यो । इस्माइला सारको प्रहार सेल्सले बचाए भने म्याक्सेन्स लाक्रुवो वुडको प्रयास ब्लक गरे ।

६०औं मिनेटमा गोलकिपर सेल्सले टाइरिक मिचेललाई लडाउँदै फाउल गरेपछि एबेरेची एजेले पेनाल्टीमार्फत् गोल गर्दै प्यालेसलाई अग्रता दिलाए । गोल गरेपछि घरेलु समर्थकहरू उत्साहित देखिन्थे तर त्यो अग्रता चार मिनेटमै अन्त्य भयो । 

निको विलियम्सको शक्तिशाली प्रहारमा मुरिलोले हल्का टच दिँदै बललाई पोस्टको दिशा दिए । इन्जुरी समयमा एडी एनकिटियाले एजेको प्रहारलाई डिफ्लेक्ट गर्दा गोल गरेजस्तो देखिएको थियो, तर अफसाइडको झण्डा उठेसँगै त्यो गोल मान्य भएन ।

यस बराबरीपछि फरेस्ट छैटौँ स्थानमा छ । चौथो र पाँचौ स्थानमा रहेका न्यूक्यासल र चेल्सीसँग दुई अंकले मात्र पछि रहेको फरेस्टको तीन खेल बाँकी रहदा ६१ अंक छ । प्यालेस भने १२ औँ स्थानमा यथावत छ । उसलाई गत सिजनको सर्वाधिक ४९ अंक बराबरी गर्न तीन अंक आवश्यक छ ।