काठमाडौं । अमेरिकाबाट थप ३७ जना नेपाली नागरिक निष्कासनमा परेका छन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ आइसले निष्कासनमा परेका सबैलाई चार्टर विमानबाट आज नेपाल ल्याउँदै छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले ओम्नी एयरको चार्टर विमानबाट उनीहरुलाई नेपाल पठाइएको जानकारी दिनुभयो ।
अमेरिकाले ‘उडान नम्बर एन८२८एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई काठमाडौं ल्याइदै छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता यसअघि अमेरिकाले दुई सयभन्दा बढी नेपाली नागरिकलाई यसैगरी फिर्ता पठाइसकेको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका छन् ।
यसअघि डिपोर्ट भएकाहरू दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौंका छन् । यसैगरि जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन् । अमेरिकाबाट डिपोर्ट हुनेमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन् ।
प्रहरीका अनुसार‘डिपोर्ट’ भएर आउनेहरु अधिकांश संगठित गिरोहलाई रकम बुझाएर अवैध बाटोबाट अमेरिका प्रवेश गरेका हुन् ।