आईपीएलमा वैभव युगको सुरूवात

वैशाख १७, २०८२ |सुवास रोकाया
आईपीएलमा वैभव युगको सुरूवात

काठमाडौं । आईपीएलअन्तर्गत राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच साेमबार राति भएको खेल ऐतिहासिक बन्यो । सवाई मानसिंह स्टेडियममा भएको ऐतिहासिक खेलको साक्षी बने हजारौं दर्शक । 

यो स्टेडियममा राजस्थानका १४ वर्षे खेलाडी वैभव सूर्यवंशीले नयाँ अध्याय सुरू गरे । वैभवले ३५ बलमा बनाएको अद्भूत शतक केवल रनहरूको आँकडा थिएन । यो त एक युवा सपना थियो, जुन मैदानमै साकार भयो । वैभवले प्रतिभालाई उमेर छेक्न सक्दैन भन्ने प्रमाणित समेत गरे ।

जयपुरको सवाई मानसिंह स्टेडियममा सोमबार साँझ केवल आईपीएलको एउटा खेल मात्र खेलिएन । यो स्टेडियम ऐतिहासिक महाकाव्यको साक्षी पनि बन्यो । जसको नायक थिए- राजस्थान रोयल्सबाट खेलिरहेका १४ वर्ष ३२ दिनका वैभव सूर्यवंशी । आईपीएलको रेकर्ड बुकमा सुनौलो अक्षरले नाम लेखाउन सफल वैभवको प्रदर्शनले राजस्थान रोयल्सलाई गुजरात टाइटन्समाथि ८ विकेटको भव्य जित दिलायो ।

१४ वर्ष ३२ दिनको उमेरमा वैभवले शतक पुरा गरे । जुन आईपीएलमा मात्र नभइ टी-२० मा समेत कुनै पनि खेलाडीले सबैभन्दा कम उमेरमा बनाएको शतक थियो । आईपीएलको दोस्रो छिटो शतकसमेत वैभवकै नाममा रह्यो । 

उनी आईपीएलमा सर्वाधिक छिटो शतक प्रहार गर्ने भारतीय खेलाडी बने । वैभवले यशस्वी जेशवालसँग मिलेर १ सय ६६ रनको साझेदारी गरे । जुन राजस्थानका लागि कुनै पनि विकेटको रुपमा सर्वाधिक ठूलो साझेदारी हो । 

६ ओभरमा बिना विकेट ८७ रन बनाउँदा राजस्थानका लागि पावर प्लेको उच्चतम् स्कोर बन्यो । १५ ओभर ५ बलमा लक्ष्य पुरा गर्दा आईपीएलको एतिहासमा सबैभन्दा छिटो २ सयभन्दा माथिको रन चेज पूरा भयो र अर्को इतिहास रचियो । वैभवले एक इनिङमा भारतीय खेलाडीद्वारा सबैभन्दा धेरै ११ छक्का प्रहार गरेको कीर्तिमान बराबरी गरे ।

गुजरातले २ सय १० रनको लक्ष्य प्रस्तुत् गर्दा धेरैले अनुमान गरेका थिए- यो पार गर्न सास्तीपूर्ण हुनेछ । खासजारी संघर्षरत राजस्थानका लागि यो चुनौती कठिन मानिएको थियो । 

तर, वैभवका हातमा जब ब्याट पर्‍यो सवाई मानसिंह स्टेडियममा रनको वर्षा हुन थाल्यो । विगतका कीर्तिमान एकपछि अर्को भंग हुन थाले । विगतमा स्टार खेलाडीले बनाएका कीर्तिमान वैभवको छायामा परे । 

मैदानमा वैभवको एकछत्र राज देखियो । दर्शकहरू सास थामेर ती स्वर्णिम क्षणहरूको साक्षी बन्न उभिए । १ सय १ रनको इनिङ्समा वैभवले ९४ रन त केबल बाउन्ड्रीबाट प्राप्त गरे ।

विपक्षी टोलीमा राशिद खान, मोहम्द सिराज, इशान्त शर्मा, प्रसिद्ध कृष्णा र वाशिङ्टन सुन्दर जस्ता विश्वस्तरीय अन्तर्राष्ट्रिय बलरहरू थिए । तर उनीहरू सबै वैभवको अगाडि निरिह सावित भए । 

१२ औं ओभरको पाँचौं बलमा जब वैभव प्रसिद्ध कृष्णाको सिकार भए । पुरै स्टेडियमले उभिएर वैभवको अभिनन्दन गर्‍यो । आफ्नो र विपक्षी टिमका सबै खेलाडीले उनलाई सम्मान दिए । मुख्य प्रशिक्षक राहुल द्रविडले पनि स्टयान्डिङ ओभियसन दिए । एक युवा सपना मैदानमै साकार भयो ।

वैभवले रचेको इतिहासमा यस्तो कथा थियो, जसमा सपना, परिश्रम, संकल्प र साहसको तालमेल देखिन्यो । क्रकेटले नयाँ नायक पाउँदा वैभवले क्रिकेट प्रेमीलाई नयाँ दृष्टिकोण र दिशा दिएका छन् । प्रेरणाको स्रोत बनेका छन् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।