काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को लिग चरणको आफ्नो अन्तिम खेलमा ललितपुर सिटीले झापा एफसीसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा एक गोलले पछि परेको झापाले गोल फर्काएर १-१ को बराबरी खेलेको हो ।
ललितपुर यसअघि नै क्वालिफायरमा पुगिसकेको छ भने झापा लिग चरणबाटै बाहिरिसकेको छ ।
आज, खेलको नवौं मिनेटमा ललितपुरले गोलको अवसर गुमायो । आदित्य शाक्यले काउन्टर अट्याकमा झापाका गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न चुके । १२ औं मिनेटमा इमोह इजिकेलको प्रहार गोलकिपर एन्जल श्रेष्ठले बचाएका थिए । झापाका गेरोले निकै राम्रो स्थानबाट गरेको हेडर बाहिरिएको थियो । ३९ औं मिनेटमा ललितपुरले कम्बिनेसन प्लेमा गोल गर्न सकेन । सनिस श्रेष्ठले दायाँबाट निकालेको बलमा अभिषेक लिम्बूले इमोह इजिकेललाई क्रस गरेका थिए । तर इजिकेलको प्रहार झापाका डिफेन्डरले बचाएका थिए ।
पहिलो हाफमा यस बाहेक राम्रो मुभ देख्न पाइएन । एक खेलअघि नै क्वालिफायर पुगेको ललितपुरले कप्तान अनन्त तामाङसहित महत्त्वपूर्ण खेलाडीलाई सुरुआती ११ मा राखेको थिएन । उसलाई आजको हारजितले असर नगर्ने भएकाले युवा र बेन्चका खेलाडीले अवसर पाएका थिए । तर हाफ टाइममा ललितपुरले चार परिवर्तन गर्यो ।
पहिलो हाफपछि पेस बढाएको झापाले ५० औं मिनेटमा गोलको राम्रो अवसर सिर्जना गर्यो । तर गोलमा असफल नै भयो । यता ललितपुरले ५४ औं मिनेटमा अग्रता बनाउन सफल भयो । नवीन लामाले अनमोल भण्डारीको क्रसमा गोल गरे । तर झापाले ६४ औं मिनेटमा नै गोल फर्कायो । प्रविन खुलालको पासमा कप्तान लाकेन लिम्बूले उत्कृष्ट गोल गरे । उनले सिजनको अन्तिम खेलमा व्यक्तिगत पहिलो गोल गरेका हुन् । उनी खेलको खेलको भ्यालुएबल प्लेयर बने ।
जारी सिजनमा झापाको यो पाँचौं बराबरी हो । उसले लिगका ६ खेलमध्ये धनगढीसँगको खेलमा हार बेहोरेको थियो भने बाँकी पाँच खेल नै बराबरी खेलेर पाँच अंक जोड्दै बाहिरियो । सुपर लिगमा भोलि लिग चरणको समापन हुनेछ । जहाँ धनगढी एफसीले एफसी चितवनको सामना गर्नेछ ।