फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण

वैशाख १, २०८२ |खेल ब्युरो
फोर नेसन्स कप बक्सिङमा नेपाललाई ४ स्वर्ण

काठमाडौं । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । यो नतिजासँगै ४ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोश्रो भयो । भुटान पहिलो भयो ।

अप्रिल ११ देखि १३ सम्म भएको प्रतियोगितामा नेपालका ७ खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाउनु भयो ।

महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन् । महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले हराउँदै नेपाललाई दोश्रो स्वर्ण दिलाइन् ।

त्यसैगरी, महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकले हराउँदै स्वर्ण जितिन् ।

पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत सिक्किमका कृष्ण कैलाश राईलाई ५–० अंकको आधारमा पाखा लगाउँदै स्वर्ण जिते । पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती प्रतिस्पर्धात्मक खेलमा भुटानका दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै दोश्रो भए । 

पुरुष ५४ केजीमा आशा गरिएका चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अंकले चुके । तीनै राउन्ड आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाएर अंक बराबर हुँदा पुनः जजहरूले अंक दिँदा ३-२ ले पछि पर्दै रजतमा सीमित भए । चन्द्र सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले हराउँदै फाइनल पुगेका थिए ।

भुटान बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा भुटान, नेपाल, भारत र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।