काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा लखनउ सुपर जाइन्ट्सले तेस्रो जित हात पारेको छ । आज भएको खेलमा लखनउले कोलकाता नाइट राइडर्सविरुद्ध ४ रनको रोमाञ्चक जित हात पारेको हो । आक्रामक सुरुवात गरेको कोलकाता फिनिसिङमा चुकेपछि तेस्रो हार बेहोर्न पुग्यो ।
इडेन गार्डनमा घरेलु टोली कोलकाताले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो । लखनउका लागि ओपनर इडन मारक्रम र मिचेल मार्सलले उत्कृष्ट सुरुवात दिलाउँदै पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।
मारक्रमले ४७ रन बनाए । मार्स र निकोलस पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । मार्सले ८१ रनको आक्रामक इनिङ्स खेले । पुरनले ३६ बलमा ७ चौका र ८ छक्कासहित ८७ रनमा नटआउट रहे । कोलकाताका हषिर्त रानाले २ र आन्द्रे रसलले १ विकेट लिए ।
जवाफमा कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो । आक्रमक सुरुवात नै गरेको कोलकाताले पावरप्लेमा १ विकेट गुमाएर ९० रन बनायो । क्विन्टन डी कक १५ रनमा आट भए । सुनील नारिन ३० रन बनाएर क्याच आउट भए । कप्तान अजिंक्य रहाणेले ६१ रनको योगदान दिए । विङकटेस अय्यरले ४५ रन बनाए । रिंकु सिंह ३८ र हषिर्त राना १० रनमा अविजित रहे पनि कोलकाताको हार टार्न सकेनन् । लखनउका लागि आकाश दिप र सार्दुल ठाकुरले समान २-२ विकेट लिए ।
लखनउले ५ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । लखनउ लिगको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २ जित हात पारेको कोलकाता ४ अंकसहित छौटौं स्थानमा छ ।