काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार पाँचौं जित हात पारेको छ ।
लिग लिडर प्लानिङले अपराजित यात्रालाई कायमै राख्ने क्रममा सरस्वती युथ क्लबविरुद्ध ३-० गोल अन्तरको सहज जित हात पार्यो । सरस्वतीका लागि यो लगातार तेस्रो हार हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोल, सरोज कार्की र फागुराम थारुले समान १-१ गोल गरे । खेलको दोस्रो मिनेटमै सुजनको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो ।
७३औं मिनेटमा सरोजले गोल गर्दै प्लानिङ ब्वाइजलाई २-० को अग्रता दिलाए । ८२औं मिनेटमा फागुरामले गोल गर्दै प्लानिङ ब्वाइजलाई ३-० को सहज जित दिलाए ।
जितसँगै प्लानिङ ब्वाइजले पाँच खेलमा १५ अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमाख छ । लगातार तेस्रो हार बेहोरेको सरस्वती समान खेलबाट ६ अंकका साथ आठौं स्थानमा छ ।