दिल्लीमा नेपाल महोत्सव : भारतीय व्यवसायीद्वारा लगानीका क्षेत्रबारे चासो व्यक्त

वैशाख ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
दिल्लीमा नेपाल महोत्सव : भारतीय व्यवसायीद्वारा लगानीका क्षेत्रबारे चासो व्यक्त

काठमाडौं । नेपाल र भारतका व्यवसायी र कलाकारहरूको जमघटसँगै भारतको दिल्लीमा आयोजित ‘नेपाल महोत्सव’ सम्पन्न भएको छ । भारतमा बसोवास गर्दै आएका नेपालीहरूको पहलमा आयोजित नेपाल महोत्सवमा नेपालका व्यवसायी र कलाकारहरू समेत सहभागी भएका थिए ।

एभरेस्ट चेम्बर अफ कमर्सको आयोजनामा भएको महोत्सवमा नेपाली पञ्चेबाजाको धुनसँगै नेपाली परिकार, नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचारसँगै नेपालमा लगानी भारतीय लगानी भित्र्याउन अन्तर्संवाद कार्यक्रमहरू आयोजना गरिएको थियो । महोत्सवमा सहभागीहरूले नेपालको धार्मिक तथा पर्यटन क्षेत्र, नेपाली पञ्चेबाजा र नेपाली परिकारप्रति विशेष रुचि राखेका थिए । महोत्सवमा सहभागी व्यवसायीहरूले नेपालमा लगानी गर्न सकिने क्षेत्रबारे विशेष चासो राखेको आयोजकले जानकारी दिएका छन् ।

महोत्सवका लागि भारतमा रहेको नेपाली दूतावासले सहकार्य गरेको थियो । आयोजक एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले नेपाल र भारतबीच व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र अध्यात्ममार्फत नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन सफल भएको बताउनुभयो ।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बाह्रखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा भएको महोत्सवमा नेपाल-भारत व्यापारसम्बन्धी छलफल, बीटुबी र बीटुसी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्रमा दुवै देशका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।

“पहिलो पटक आयोजना भएको महोत्सवको उपलब्धिले भारतमा रहेका नेपालीहरू खुशी छन्”, घिमिरेले भन्नुभयो, “महोत्सवमा सहभागी भएका भारतीय व्यवसायी र धार्मिक पर्यटनप्रति रुचि राख्नेहरूले राखेको चासो देख्दा नेपालमा सकारात्मक प्रभाव पर्ने विश्वास लागेको छ ।”

कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति, खानाप्रेमीका लागि मौलिक नेपाली खाना स्टल, व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्ध, उदीयमान व्यावसायिक लगानी क्षेत्र, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, नेपाल-भारत आर्थिक सहयोगको भविष्यबारे छलफल समेत भएको थियो ।

हरेक वर्ष अप्रिल ११ देखि १३ सम्म महोत्सव आयोजना गर्ने क्यालेन्डर नै बनाएको र पहिलो पटक आयोजित महोत्सवको प्रतिक्रियाबाट उत्साहित भएको घिमिरेले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.