काठमाडौं । फिलिपिन्सकी युवा खेलाडी अलेजान्द्रा इयालाले आफ्नो करियरकै ठुलो जित हात पारेकी छिन् ।
१९ वर्षीया इयालाले मायामी ओपन टेनिसको क्वाटरफाइनलमा विश्व नम्बर दुई इगा स्वान्तेकलाई सोझो सेटमा स्तब्ध पारेकी हुन् । वाइल्ड कार्डमार्फत् प्रवेश पाएकी इयालाले पहिलो सेट ६-२ ले जितेकी थिइन् । यो सेटमा पाँच पटककी ग्रान्डस्लाम च्याम्पियन स्वान्तेकले १९ अनफोर्स्ड एरर गरेकी थिइन् ।
मायामीमा समर्थकले अभद्र व्यवहार गरेपछि स्वान्तेकलाई खेलका दौरान अतिरिक्त, सुरक्षा प्रदान गरिएको थियो । उनले दोस्रो सेटमा पनि पुनरागमन गर्न सकिनन् । हाल विश्व वरियताको १ सय ४०औं स्थानमा रहेकी इयालाले दोस्रो सेट ७-५ ले आफ्नो पक्षमा पारिन् ।
उनले पहिलो पटक डब्लुटिए सेमीफाइनलमा स्थान बनाएकी हुन् । इयाला, टुर लेभलको अन्तिम चारमा पुग्ने पहिलो फिलिपिनो खेलाडी पनि हुन् । नयाँ वरियता सार्वजनिक हुँदा इयालाले शीर्ष एक सयभित्र स्थान बनाउने छिन् । यसअघि फिलिपिन्सका खेलाडीले यो सफलता प्राप्त गरेका थिएनन् ।
मायामी ओपनको सेमीफाइनल पुग्ने इयाला केवल तेस्रो वाइल्ड कार्ड प्राप्त खेलाडी हुन् । यसअघि सन २०१० मा जस्टिन हेनिन र २०१८ मा भिक्टोरिया अजारेन्काले सेमीफाइनलमा स्थान बनाएका थिए ।
इयाला रफायल नाडाल एकेडेमीको उत्पादन हुन् । खेलपछि उनले आफ्नो जितमा विश्वास नलागेको प्रतिृकया दिएकी थिइन् ।