गणेश थापामाथि अनुसन्धान र कारवाहीका लागि फिफामा पत्राचार गर्ने एन्फाको निर्णय

चैत्र १३, २०८१ |खेल ब्युरो
गणेश थापामाथि अनुसन्धान र कारवाहीका लागि फिफामा पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले संघका पूर्वअध्यक्ष गणेश थापामाथि अनुसन्धान र कारवाहीका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पत्राचार गर्ने निर्णय गरेको छ ।

एन्फाको चैत १२ र १३ गते बसेको कार्यसमिति बैठकले संघका पदाधिकारीहरुको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष थापासम्बन्धी विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई आवश्यक कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघका न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्राचार गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय एन्फाका महासचिव किरण राईले आफूबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै थापाले राईविरूद्ध साइबर ब्यूरो र अदालतमा मुद्दा दायर गरेका छन् । 

एन्फाले बैशाख २६ गते नियमित साधारण सभा गर्ने निर्णय पनि गरेको छ । साधारण सभामा वाषिर्क कार्यक्रम तथा प्रतियोगिताका लागि एक अर्व छपन्न करोड बत्तिस लाख नौ हजार ४ सय ५० रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरिने छ ।

आन्तरिक विवादका कारण दुई दिन लगाएर बसेको एन्फाको नवौं कार्यसमिति बैठकले विभिन्न १५ वटा निर्णय गरेको हो ।