काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अहिले खुला प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम एकसाथ तीव्र गतिमा अघि बढिरहेको छ । आगामी वैशाख २४ भित्र निर्माण सम्पन्न गरी उद्घाटन गर्ने लक्ष्य लिइएको छ । यससँगै नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु हुनेछ, जसले खेलाडीहरूमा अझै बढी उत्साह थप्ने अपेक्षा गरिएको छ ।
कमजोर पूर्वाधारकै कारण नेपालले विगतमा विश्व क्रिकेटका शक्ति मुलुकहरूलाई आतिथ्यता गर्ने अवसर पटक-पटक गुमायो । तर, अब त्यो स्थिति दोहोरिने छैन । यतिखेर त्रिवि मैदानलाई आधुनिक र सुविधासम्पन्न बनाउने उद्देश्यले प्यारापिट धमाधम निर्माण भइरहेको छ । जसअनुसार क्यामेरा बक्सको दायाँ र बायाँ गरी १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुनेछ । यसबाहेक ६ वटा उच्च-गुणस्तरका फ्लडलाइट जडान गर्ने कार्य समेत एकसाथ भइरहेका छन् ।
यो निर्माण पूरा भएसँगै नेपालले इतिहासमै पहिलो पटक प्यारापिट र फ्लडलाइट सहितको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान प्राप्त गर्नेछ । नेपाल क्रिकेट संघ (क्यान), राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल सरकारको विशेष चासो रहेको यो परियोजना नेपाली क्रिकेटको विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
हुन त सरकारले त्रिवि क्रिकेट रंगशालाको पूर्ण निर्माणका लागि गुरुयोजना नै बनाउन लागेको छ । तर त्यसका लागि लामो समय लाग्ने भएकाले अहिले प्यारापिट निर्माण गरिएको हो । बीकेओआई-केसीडिसी-बिजी जेभी ४३ करोड ७७ लाख ३० हजार रुपैयाँमा प्यारापिट निर्माणको ठेक्का पाएको हो भने विशाल-ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख रुपैयाँमा फ्लडलाइट जडानको जिम्मा पाएको छ ।
कुनै अवरोध नभए निर्धारित समयमै निर्माण सक्ने दुवै कम्पनीले दाबी गरेका छन् । प्यारापिटका लागि २०५ जना दिनरात खटिएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन नयाँ मैदानमै गरिने लक्ष्य लिइएको छ । निर्माण सकिएपछि दर्शकहरूले अब पहिलो पटक फ्लडलाइटको उज्यालोमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको मज्जा लिन पाउनेछन् ।