इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरीमा रोकियो

चैत्र ३, २०८१ |खेल ब्युरो
इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी ब्राइटनसँग बराबरीमा रोकियो

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले, ब्राइटनसँग २/२ गोलको बराबरी खेल्दै अंक बाडेको छ । सिटीका अर्लिङ हालान्डले भने करियरमा अर्को कोशेढुंगा पुरा गरे ।

इत्तिहाद स्टेडियममा गएराति भएको खेलमा सिटीले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन् । ११औं मिनेटमा नर्वेजियन स्ट्राइकर हालान्डले पेनाल्टिमा गोल गर्दै घरेलु टिमलाई १-० ले अघि बढाएका थिए ।

यो सँगै हालान्डले सबैभन्दा छिटो प्रिमियर लिगमा एक सय गोलमा संलग्न हुने खेलाडीको किर्तिमान बनाएका छन् । उनले यो सफलता केवल ९४ खेलमा प्राप्त गरेका हुन् । यसअघि यो किर्तिमान आलन सेरको नाममा थियो । उनले एक सय खेल खेलेका थिए । हालान्ड सन २०२२ मा बोरुसिया डर्टमन्डबाट सिटीमा आवद्ध भएका हुन् ।

हालान्डले तीन सिजनमा क्लबका लागि लिगमा ८४ गोल र १६ असिस्ट गरेका छन् । २१ औं मिनेटमा ब्राइटनका पेर्भिस एस्तोपिन्याले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याए । ३९ औं मिनेटमा ओमार मार्मोसले पुनः सिटीलाई अग्रता दिलाएका थिए । तर ४८औं मिनेटमा सिटीका अब्दुकोदिर खुसानोभले आफ्नै पोस्टमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो ।

ब्राइटनले सिटीविरुद्ध अहिलेसम्म अवेमा जित हात पारेको छैन । तालिकाको पाँचौ स्थानमा रहेको सिटीको २९ खेलबाट ४८ अंक छ । सातौं स्थानको ब्राइटनको ४७ अंक छ ।



Enter Kantipur TV HD
Advertisement