काठमाडौं । सरकार र जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटी (एनओसी) बीचको विवाद झन् गहिरिएको छ । कमिटीको गत पुसमा भएको निर्वाचन अवैधानिक भएको बताउँदै आएको सरकार र कमिटीबीचको विवाद बढ्दै गएको हो ।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद्ले आज नेपाल ओलम्पिक कमिटीको भवनमा ताला लगाएको छ । परिषद्का कार्यकारी समिति सदस्य कमल भट्टराई सहितको टोलीले प्रहरीको उपस्थितिमा मूल गेटसहित सम्पूर्ण प्रवेशद्वारमा ताला लगाएको हो ।
ओलम्पिक कमिटीको नाममा विदेश भ्रमणमा जानेहरूलाई अध्यागमनले रोक्न थालेपछि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले केही दिनअघि पत्रकार सम्मेलन गरी विरोध जनाएका थिए । त्यसको जवाफस्वरूप युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आज पत्रकार सम्मेलन गरी ओलम्पिक कमिटीले गरेका सबै क्रियाकलाप गैरकानुनी रहेको बताए । ओलम्पिकमा आबद्ध वैध संघका प्रतिनिधिमार्फत निर्वाचनको नयाँ प्रक्रिया अघि नबढाएसम्म सरकारले मान्यता नदिने मन्त्री चौधरीको भनाइ छ ।
यसअघि परिषद्को बोर्ड बैठकले ओलम्पिक कमिटीले गरेको साधारण सभा र निर्वाचन अवैधानिक रहेको निर्णय गरेको थियो । त्यसका साथै एनओसीको बैंक खाता तथा पदाधिकारीको वैदेशिक कार्यक्रममा सहभागिता लगायतका निर्णय समेत सरकारले गरेको थियो । यता एनओसी अध्यक्ष श्रेष्ठले मन्त्रालयको निर्णय गलत रहेको दाबी गरेका छन् । मन्त्रालय समस्या समाधान भन्दा पनि बल्झाउनेतर्फ लागेको श्रेष्ठको आरोप छ ।
अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटी अन्तर्राष्ट्रिय ओलम्पिकको नियम अनुसार चल्ने भएकाले आफूहरू कुनै पनि ठाउँमा गलत नरहेको बताए ।