महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सलाई

चैत्र ३, २०८१ |खेल ब्युरो
महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सलाई

काठमाडौं । महिला प्रिमियर लिगको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । फाइनलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ८ रनले पराजित गरेको हो । मुम्बईको पछिल्ला तीन सिजनमा यो दोस्रो उपाधि हो ।

मुम्बइ स्थित ब्रेर्बोन स्टेडियममा दिल्लीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो । मुम्बइले २० ओभरमा सात विकेट गुमाएर १ सय ४९ रनको योगफल बनाएको थियो ।

खराब सुरुवात गरेको मुम्बइले १४ रनमा दुवै ओपनर गुमायो । हेली म्याथ्युज ३ र यास्तिका भाटिया ८ रनमा आउट भए । तर तेस्रो विकेटका लागि कप्तान हर्मनप्रित कौर र नट सिभर ब्रन्टले ८९ रनको साझेदारी गरेपछि मुम्बईले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । सिभर ब्रन्टले ३० रन बनाइन् । उनी आउट भएसँगै दिल्लीले लगातार विकेट लिएको थियो ।

अमेलिया कर दुई रनमा मैदान बाहिरिदा सजिवन साजनाले खाता खोल्न सकिनन् । हर्मनप्रितले ४४ बलमा ६६ रनको शानदार इनिङस खेलिन् । अमानजोत कौर १४ रनमा अविजीत रहिन् ।

मरिजन क्याप, श्री चरानी र जेस जोनासेनले २/२ विकेट लिए । जवाफमा दिल्लीले २० ओभरमा नौ विकेटको नोक्सानीमा १ सय ४१ रन मात्र बनाउन सक्यो । शीर्ष तीन ब्याटर सस्तैमा पभेलियन फर्किएपछि दिल्ली दबाबमा आएको थियो । कप्तान मेग लेनिङ सिभर ब्रन्टको बलमा १३ रनमा बोल्ड भइन् । अर्को ठुलो विकेट सेफाली बर्मालाई ४ रनमा शबनिम स्माइलले एलबिडब्लु आउट गरिन् ।

जोनासेन १३ रनमा स्टम्पिङ भएपछि मुम्बईले खेलमा नियन्त्रण जमाएको थियो । जेमिन्नाह रोद्रिगेजले ३० र मरिजनले ४० रन बनाएपनि जितका लागि पर्याप्त भएन् । सिभर ब्रन्टले तीन र करले २ विकेट लिए । दिल्ली लगातार तेस्रो सिजन उपविजेतामा सिमित भएको हो । मुम्बईले यसअघि पहिलो सिजनमा उपाधि जित्दा दिल्लीलाई सात विकेटले पराजित गरेको थियो । सिभर ब्रन्ट प्लेयर अफ द सिरिज बनिन् ।



Enter Kantipur TV HD
Advertisement