काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले लगातार तेस्रो पटक केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज सम्पन्न फाइनलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै ह्याट्रिक उपाधि जितेको हो ।
दर्शकले खचाखच भरिएको दशरथ रंगशालामा मच्छिन्द्रले उपहार गोल मार्फत सुरूआती अग्रता बनाएको थियो । २९ औं मिनेटमा एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको क्रस आर्मीका डिफेन्डर विमल पाण्डेले क्लियर गर्न खोज्दा आत्माघाती गोल हुन पुग्यो । विमलले बलको बाउन्सलाई रिड गर्न नसक्दा आत्मघाती गोल हुन पुगेको हो । ३५ औं मिनेटमा मलिक युसुफको प्रहार गोल किपर विकेश कुथुले अगाडि आएर बचाए ।
७२ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्यो । थ्रो इनबाट बनेको मुभमा मल्लिक युसुफको पासलाई सदुपयोग गर्दै स्टेफन जमाहा जालीले पहिलो टचमै फस्ट बारमा उत्कृष्ट गोल गरे । यसपछि दुवै टिमबाट गोल नहुँदा मच्छिन्द्र च्याम्पियन बन्यो । मेघराज केसीको टोली २–० ले स्तब्ध हुँदै उपविजेतामा सिमित भयो ।
यसै सिजिन इटहरी गोल्डकप जितेको मच्छिन्द्रले पाँचथर गोल्डकप र बागमती गोल्डकपको फाइनल खेलेको थियो । मफोसलका प्रतियोगितामा खास प्रदर्शन गर्न नसकेको आर्मीका लागि यो पहिलो फाइनल थियो ।
जितसँगै सन्तोष नेउपानेको टोली मच्छिन्द्रले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो । यो खेल इटालियन सर्वकालीन् महान गोलकिपर बुफोनले समेत हेरेका थिए ।