काठमाडौं । बार्सिलोना र एट्लेटिको मड्रिडबीचको कोपा डेल रे सेमिफाइनलको पहिलो लेग ४-४ गोलको रोमाञ्चक बराबरीमा सकिएको छ । दुई गोलले पछि परेको एट्लेटिकोले नाटकीय रूपमा पुनरागमन गर्दै बार्सालाई रोकेको हो ।
खेल सुरू भएको ५० सेकेन्डमा नै जुलियन आल्भारेजले गोल गर्दै एट्लेटिकोलाई घरेलु टिम विरुद्ध अग्रता दिलाएका थिए । छैटौं मिनेटमा एन्टोइन ग्रिजमनले अग्रता दोब्बर बनाए । रोमाञ्चक खेलमा बार्सिलोनाले पनि लयमा फर्कन समय लगाएन । १९ औं मिनेटमा पेड्रीको गोल मार्फत बार्साले रिकभर गरेको थियो । २१ औं मिनेटमा पाउ कुबर्सीले हेडर गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो ।
४१ औं मिनेटमा बार्साले खेलमा ३-२ को अग्रता लियो । उसका लागि इनिगो मार्टिनेजले गोल गरेका हुन् । ७४ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको लमिन यामलको क्रसमा गोल गरेसँगै बार्सा पहिलो लेगमा जित नजिक पुगेको थियो ।
तर एट्लेटिकोले बार्सालाई जित हात पार्नबाट रोक्यो । ८४ औं मिनेटमा मार्कस लोरेन्टेले गोल गर्दै बार्सासँगको दुरी ४-३ मा झारे । इन्जुरी समयमा सब्सिच्युट खेलाडी अलेक्जेन्डर सोलोथले गोल गरेपछि एट्लेटिको नाटकीय रूपमा खेल बराबरी गर्न सफल भएको हो ।
यो सिजन ला लिगामा पनि सोलोथले इन्जुरी समयमा गोल गर्दै बार्सा विरुद्ध जित दिलाएका थिए । दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज रियल मड्रिडले रियल सोसिडाडसँग खेल्दैछ ।