काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा ७ टिमले मात्रै खेल्ने भएका छन् । लिगको पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका भए पनि दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए । पहिलो संस्करण खेलेको विराटनगरले दोस्रो संस्करण खेलेको थिएन । त्यसैले दोस्रो संस्करणमा तीन टिम थपिए पनि नौ टिमले खेलेका थिए । अब चैतमा हुने भनिएको तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका हुन् ।
आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले बिहीबार तेस्रो संस्करणको लागि अक्सन मिति र सहभागी टिमको नाम समेत सार्वजनिक गरेको छ । विराटनगरले अहिले पनि खेल्ने छैन। यससँगै पूर्वको तीममध्ये अब झापाले मात्रै खेल्ने भएको हो । झापा दोस्रो संस्करणमा थपिएको टिम हो । यस्तै पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन् ।
आयोजक एनएसइएमका एमडी श्रेयांश कार्कीले दुवै टिमले एक सिजन फुटबलमा लगानी गरेकोमा धन्यवाद दिए । दुई टिमको ठोस योजना नभएको र गाइडलाइन अनुसार पनि नभएकोले यस पटक दुई टिम बाहिरिएका हुन् ।
अहिले ‘ए’ क्याटेगोरीका लागि खेलाडीहरूको संख्या कम छन्। तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरू हुँदैछ । तेस्रो संस्करणका लागि फागुन १० गते अक्सन हुने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स हो भने दोस्रो संस्करणको विजेता ललितपुर सिटी हो । धनगढी सिटी दुई पटकको उपविजेता टोली हो । एउटा टोलीले कम्तीमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ ।
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले यसपटक पनि नयाँ टोली एनएसएल खेल्ने इच्छा देखाए पनि नथप्ने निर्यण गरेको बताए । “अहिले छाड्ने टोलीलाई फेरि समावेश गराउँदैनौं”, उनले भने, “अर्को वर्ष नयाँ टोलीलाई थप्ने योजना छ ।”
यो वर्षदेखि एनपीएलमा खेलाडी रिटेन पनि हुने भएका छन् ।