उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा गोल्डकपको फाइनलमा

फाल्गुन १, २०८१ |खेल ब्युरो
उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं । पाँच पटकको च्याम्पियन टोली थ्रीस्टार क्लब विरुद्ध फराकिलो गोल अन्तरले जित निकाल्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा ब्ल्याक बुल्सले थ्रीस्टारलाई ४-० ले हराउदै उपाधिको दाबेदार बनेको हो । ब्ल्याक बुल्सको जितका लागि कुभोन-चेक ओलि-मोभ, असिल-बेक ओरिफ-जोनोभ, सात्तो-रोभ र सइ-दज-मोल दाभ्ला-तिनोभले १\१ गोल गरे । 

खेलको सुरूआतदेखि नै ब्ल्याक बुल्सले थ्रीस्टारलाई दबाबमा राख्यो । २४ औं मिनेटमा ओलिमोभले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा इस्लोमजोनको क्रसमा असिल-बेकले थ्रीस्टारका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । खेलको ६३ औं मिनेटमा सात्तो-रोफले गोल गर्दै अग्रता फराकिलो बनाए । बक्स बाहिरबाट बल अगाडि बढाएका उनले थ्रीस्टारका तीन खेलाडीलाई छक्याउँदै पेनाल्टी बक्सभित्रबाट आकर्षक गोल गरे । उनको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाउने कुनै मौका पाएनन् । खेलको ८७ औं मिनेटमा साइदजा-मोलले अको गोल थप्दै थ्रीस्टारको सम्भावना समाप्त गरिदिए । 

खेलमा असिल-बेक प्लेयर अफ द म्याच भए । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।



Enter Kantipur TV HD
Advertisement