फ्रान्समा दुई दिने अन्तर्राष्ट्रिय एआई समिट सुरू, कृत्रिम बौद्धिकताको अवसर र चुनौतीबारे छलफल हुने

माघ २८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
फ्रान्समा दुई दिने अन्तर्राष्ट्रिय एआई समिट सुरू, कृत्रिम बौद्धिकताको अवसर र चुनौतीबारे छलफल हुने

काठमाडौं । फ्रान्समा आजदेखि अन्तर्राष्ट्रिय कृत्रिम बौद्धिकता सम्बन्धी दुई दिने शिखर सम्मेलन ‘एआई एक्सन समिट’ सुरू भएको छ । दुई दिने शिखर सम्मेलनको उद्देश्य एआईसम्मको पहुँच र यस सम्बन्धी नैतिक नियमका साथै एआईको सुरक्षित प्रयोगबारे छलफल गर्नु रहेको छ ।

शिखर सम्मेलनमा विश्वका करिब एक सय देशका सरकार प्रमुख, उच्च सरकारी अधिकारी, शक्तिशाली आईटी कम्पनीका प्रतिनिधि, सीईओ र वैज्ञानिकहरू सहभागी रहनेछन् । शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स र चिनियाँ उपप्रधानमन्त्री झाङ गोकिङ, ओपन एआईका प्रमुख साम अल्टम्यान र गुगलका प्रमुख सुन्दर पिचाई लगायत सहभागी हुनेछन् । राज्य र सरकार प्रमुखहरू भने भोलिको सत्रमा मात्रै सहभागी हुने जनाइएको छ ।

पेरिसको ऐतिहासिक ग्र्यान्ड पेलासिस भवनमा आयोजित यस शिखर सम्मेलनमा विश्वभरका करिब १५ सय पाहुनाको सहभागिता रहने जनाइएको छ । शिखर सम्मेलनमा एआईका सम्भावना र चुनौतीका बारेमा विज्ञहरूको सम्बोधन र समूहगत छलफल हुनेछन् ।

गत महिना चिनियाँ स्टार्टअप कम्पनीले सार्वजनिक गरेको कम लगानी र उच्च कार्यक्षमता युक्त च्याटबोट (डीपसीक) को सफलताले पश्चिमा देशलाई झस्काएको छ । डीपसीकले अमेरिकी च्याटबोट च्याटजीपीटीलाई पनि पछि पारेको जनाइएको छ ।

खासगरी अमेरिका र चीनबीच एआई प्रविधिको विकासमा तीव्र प्रतिस्पर्धा रहेको छ । एआई समिट सुरू हुनु एक दिनअघि राष्ट्रिय टेलिभिजनबाट बोल्दै राष्ट्रपति म्याक्रोंले एआई परियोजनाहरूमा निजी क्षेत्रका लगानीकर्ताहरूले ११३ अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको थियो । 

यसमा संयुक्त अरब इमिरेट्सका साथै अमेरिकी र क्यानडाका साथै फ्रान्सेली कम्पनीहरूले लगानी गर्ने बताइएको छ । एआईले हामीलाई राम्रो जीवन जिउन, राम्रो अध्ययन गर्न र राम्रो हेरचाह गर्न सक्षम बनाउने बताउँदै म्याक्रोंले यसलाई मानवजातिको सेवामा कसरी प्रयोग गर्ने भन्ने कुरा पनि हाम्रै हातमा रहेको टिप्पणी गर्नुभएको थियो ।



Enter Kantipur TV HD
Advertisement