कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते फागुन तेस्रो साताबाट, विजेताले एक लाख पाउने

माघ १४, २०८१ |खेल ब्युरो
कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते फागुन तेस्रो साताबाट, विजेताले एक लाख पाउने

काठमाडौं । चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता फागुनको तेस्रो साता आयोजना हुने भएको छ । आयोजक जिल्ला प्रमुख डोजो ललितपुरले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

डोजोले स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता आउँदो फागुन १६ देखि १८ गतेसम्म नेपाल कराते एकेडेमी सातदोबाटोमा हुनेछ । आजै गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र आयोजकबीच प्रायोजक सम्झौता समेत भएको छ ।

यो प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ एकल काता र टिम काता हुनेछ । साथै, महिला तर्फ ४५, ५०, ५५, ६१, ६८, र १६८ एकल काता र टिम काता गरी जम्मा १७ वटा तौल समूहमा प्रतिस्पर्धा हुने यस प्रतियोगितागा प्रत्येक टिमबाट बढीमा २१ जना खेलाडी, एक टिम लिडर, एक टिम व्यवस्थापक र २ प्रशिक्षक सहित सात वटै प्रदेशका टोली र ३ विभागीय टोलीका २१० खेलाडी सहित ४० जना अफिसियल र विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगिता आयोजनाका लागि आयोजकले ५५ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रतियोगितामा टिमतर्फ प्रथम हुनेले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी हुनेले २५-२५ हजार प्राप्त गर्नेछन् ।



Enter Kantipur TV HD
Advertisement