ईपीएल : चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी चौथो स्थानमा उक्लियो

माघ १३, २०८१ |खेल ब्युरो
ईपीएल : चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी चौथो स्थानमा उक्लियो

काठमाडौं । डिफेन्डिङ च्यम्पियन म्यानचेस्टर सिटी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा चेल्सीलाई ३-१ गोल अन्तरले हराउँदै सिटी शीर्ष ४ मा फिर्किएको हो ।

इतिहाद स्टेडियमा एर्लिङ हालान्ड र फिल फोडेनले दोस्रो हाफमा १-१ गोल गरेपछि सिटीले सहज जित हात पारेको हो । चेल्सीले सुरुवाती अग्रता जोगाउन नसक्दा तालिकामा माथि उक्लिने अवसर गुमायो ।

तेस्रो मिनेटमा नोनी माडुकेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । सिटीका लागी डेब्यु गरेका अब्दुकोदिर खुसानोभले गल्ती गरेपछि माडुकेले गोल गरेका हुन् । खुसानोभले एडर्सनलाई ब्याक पास गरेको हेडर निकोलस ज्याक्सनले रोक्दै माडुकेका लागि असिस्ट गरेका थिए । 

जोस्को ग्वार्डियोलले दुईपटक सहज अवसर गुमापछि सिटी अग्रता लिनबाट चुक्यो । तर, तेस्रो पटक खेलको ४२औं मिनेटमा ग्वार्डियोलले नै बराबरी गोल फर्काए । चेल्सीका गोल किपर रोबर्ट सान्चेजले म्याथियस नुनेसको प्रहारलाई रोके पनि बललाई पूर्णरुपमा नियन्त्रणमा राख्न नसक्दा प्राप्त अवसरमा ग्वार्डियोलले गोल गरेका थिए ।

६८औं मिनेटमा एडरसनको पासमा हालान्डले लङ्ग रेञ्जबाट गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो । ८७औं मिनेटमा फोडेनले गोल गर्दै सीटीलाई ३-१ को जित दिलाए । फोडेनका लागि हालान्डले गोलको अवसर सिर्जना गरेका थिए ।

सिटीले २३ खेलमा १६ जितसहित ४१ अंक जोडेर तालिकाको चौथो स्थानमा पुगेको छ । सीटी ४१ अंक नै जोडेको न्युक्यासलसँग गोल अन्तरले अगाडि छ भने चेल्सी र बोर्नेमाउथभन्दा सिटीको एक अंक बढी छ ।

यसैगरी, गए राति भएका अन्य खेलमा एभर्टनले ब्राइटनलाई १-०, बोर्नमाउथले नटिङ्घम फरेस्टलाई ५-० र आर्सनलले वुल्भ्सलाई १-० ले पराजित गरे । साउथह्याम्पटनले न्युक्यासलविरुद्ध ३-१ को हार बेहोर्‍यो ।



Enter Kantipur TV HD
Advertisement