प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई

माघ १२, २०८१ |खेल ब्युरो
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई

धनगढी । धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

घरेलु टिम सुदूरपश्चिम प्रदेशलाई फाइनलमा नौं विकेटले हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले उपाधि रक्षा गरेको हो । एपीएफले ६८ रनको लक्ष्य १२ ‌ओभर पाँच बलमा एक विकेट गुमाएर पुरा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सदूरपश्चिमले १८ ओभर एक बलमा सबै विकेट गुमाएर ६७ रन मात्रै बनाएको थियो । सुदूरपश्चिमका कुनै पनि ब्याटर चल्न सकेनन्। ओपनर विन्दू रावलले १७ रन बनाउँदा चौथो नम्बरकी मनिषा बोहराको नाममा १८ रन रह्यो । कुनै खेलाडीले २० रन पार गर्न सकेनन् । शीर्ष क्रमका कविता कुँवर शून्य, रितु कनौजिया सात रनमै पवेलियन फर्किएपछि सुदूरपश्चिम ब्याकफुटमा धकेलिएको थियो। त्यसपछिका ब्याटरले जिम्मेवारीपूर्ण खेल प्रदर्शन गर्न सकेनन्। एपीएफका सबै बलरले उत्कृष्ट प्रदर्शन गरे। कविता जोशीले तीन विकेट लिएकी थिइन्। त्यसैगरी सबनम राई र इन्दू बर्माको नाममा दुई दुई विकेट रह्यो। करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।

जवाफमा एपीएफका ब्याटरले सम्हालिएर खेले। उसलाई ६८ रनको लक्ष्य पूरा गर्न दबाब नै भएन्। चार रन बनाएर राजमती ऐरी रनआउट भए पनि बाँकी खेलाडीले राम्रो प्रदर्शन गरे। ममता चौधेरी र इन्दू बर्माले ४४ रनको साझेदारी गरेर खेल जिताएका हुन् । यसक्रममा ममता चौधरीले ४३ र इन्दू ले १८ रनको योगदान गरे । सुदूरका कुनै बलरले विकेट लिन सकेनन् । एपिएफकी कप्तान इन्दू बर्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन्। उनले कपमा एक सय ७२ रन बनाइन भने पाँच विकेट हारत पारिन्। उनले ५० हजार नगद प्राप्त गरिन्।

दुई सय नौ रन बनाएकी ममता चौधरी उत्कृष्ट ब्याटर बन्दा १० विकेटसहित मनिषा उपाध्या उत्कृष्ट बलर घोषित भइन्। उनीहरूले २५ हजार नगर पुरस्कार पाए।



Enter Kantipur TV HD
Advertisement