राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि श्रेष्ठ र रोकायलाई

माघ १२, २०८१ |खेल ब्युरो
राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि श्रेष्ठ र रोकायलाई

काठमाडौं । राइट टु प्रोटिन हाफ म्याराथनको महिलातर्फको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन् भने पुरुषतर्फ राजन रोकाय विजेता बनेका छन् ।

काठमाडौंमा आज भएको प्रतियोगितामा धादिङकी श्रेष्ठ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेलाई पछि पार्दै च्याम्पियन बनेकी हुन् । उनले निर्धारित दूरी एक घन्टा २० मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । पूर्णलक्ष्मीले एक घन्टा २२ मिनेट ५१ सेकेन्ड समय लगाइन् । तेस्रो स्थानमा एपीएफ क्लबकी पुष्पा भण्डारी रहिन् । उनले एक घन्टा २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गरिन् । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी सुमित्रा चौधरी पाँचौं स्थानमा रहे ।

पुरुषतर्फको विजेता बन्ने क्रममा राजनले एक घन्टा ६ मिनेट १० सेकेन्डमा दूरी पूरा गरे । दोस्रो स्थानमा पनि आर्मीकै खडकबहादुर खड्का रहे । उनले एक घन्टा ६ मिनेट १५ सेकेन्डको समय निकालेका थिए । तेस्रो स्थान प्राप्त गरेका विदेशी धावक जुलियस मुर्लुकीले १ घन्टा ६ मिनेट २० सेकेन्डमा दौड पूरा गरे ।

आर्मीका मुकेशबहादुर पल चौथो र उनकै टिममेट सुशीलकुमार शाही पाँचौं भए । दुवैतर्फ पहिलो हुनेले एक लाख ५० हजार पुरस्कार प्राप्त गरे ।

महिलाको पाँच किलोमिटर दौडमा आफ्नै टिमकी आशा रावतलाई पराजित गर्दै एपीएफकी फूलमती रानाले उपाधि जितिन् । यी दुईबीच २१ सेकेन्डको फरक रह्यो । पुरुष १० किलोमिटरमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो, दोलखाका मिङमार शेर्पा दोस्रो भए । आर्मीका दीपक अधिकारी तेस्रो स्थानमा रहे । ह्विलचेयरतर्फ महिलामा ऐश्वर्यकुमारी कुमाल र पुरुषमा रमेश खत्रीले प्रथम स्थान हासिल गरे । स्कुलको पाँच किलोमिटरमा पुरुषको विजेता लोकेन्द्र बोहरा बन्दा महिला तीन किलोमिटरमा अस्मिता भुजेल च्याम्पियन भइन् ।

यस्तै १० किलोमिटर खुला दौडमा आर्मीका सञ्जय श्रेष्ठले उपाधि जिते ।



Enter Kantipur TV HD
Advertisement