काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्दै छन् । सुपर फोरको आफ्नो दोस्रो खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको थियो भने अपराजित एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
एपीएफ समूह ‘ए’ बाट विजेता र सुदूरपश्चिम उपविजेताका रूपमा अघि बढेका हुन् । सुपर फोरमा समेत एपीएफले कुनै खेल नहार्दा सुदूरले ३ मध्ये १ खेल जितेर नेट रनरेटमा आर्मी र बागमतीलाई पछि पार्दै एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
एपीएफ यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो । उसले हालसम्म सबै संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको छ । गत सिजन सुदूरलाई २ रनको अन्तरले हराउँदै एपीएफ च्याम्पियन बनेको थियो । सुदूरपश्चिम सोही हारको बदला लिने लक्ष्यमा हुनेछ । तर पीएम कपमा सुदूरपश्चिमले एपीएफलाई पछिल्ला ५ खेलमा हराउन सकेको छैन ।
फाप्ला क्रिकेट मैदानमा उपाधि भिडन्त बिहान १० बजे हुनेछ । तर धनगढीमा बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने भएकाले खेल केही ढिला सुरू हुन सक्ने सम्भावना छ । प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई २५-२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।