भ्यालेन्सियाविरुद्ध पुनरागमन जितसँगै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

पुस २०, २०८१ |खेल ब्युरो
भ्यालेन्सियाविरुद्ध पुनरागमन जितसँगै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगामा गएराति भएको खेलमा जित निकाल्दै रियल मड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। भ्यालेन्सियासँग एक गोलले पछि परेको अवस्थाबाट रियलले २-१ को जित दर्ता गरेको हो ।

भ्यालेन्सियाको मेस्ताला रंगशालामा घरेलु टिमले खेलको २७औं मिनेटमा नै अग्रता बनाएको थियो । मड्रिडको डि बक्सभित्र रहेका फोउलिकरले ब्याक पास दिएका थिए । पछि आएको बलमा गुएरालो लामो प्रहार गरे पनि बल हुगो डुरोतर्फ पुगेको थियेा। हुगोले पोस्टअघिबाट सहजै गोल गरेपछि भ्यालेन्सियाले पहिलो हाफमा एक गोलको अग्रता बनायो ।

दोस्रो हाफको ६१ औं मिनेटमा केलियन एम्बाप्पेको गोल रेफ्रीले भार रिभ्यूबाट रद्द गरिदिएका थिए। एम्बाप्पे अफसाइड हुँदा रियलको बराबरी गर्ने सपना पूरा भएन। खेलको ७९ औं मिनेटमा रियललाई रेड कार्डको झट्का लाग्यो। रेफ्रीले फरवार्ड भिनिसियस जुनियरलाई मैदानबाहिर पठाइदिएपछि मड्रिड १० खेलाडीमा समेटियो। तर त्यसले रियाललाई जितसम्म पुग्नबाट रोक्न सकेन।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा लुका मोड्रिचले गोल गरे । ८० औं मिनेटमा मैदान प्रवेश गरेका मोड्रिचलाई जुड बेलिङ्घमले पास उपलब्ध गराइदिएका थिए । खेलको स्टपेज समयमा बेलिङघम नायक रहे।

भ्यालेन्सियाका डिफेन्डर र गोलकिपर बीचको पासलाई चलाखीपूर्ण तरिकाले खोसेर बेलिङ्घमले रियललाई २-१ को जित दिलाएका हुन्। यो जितसँगै रियलले ला लिगाको इतिहासमा पाँच हजार अंक पूरा गरेका छ। रियलले सन् २०१३ यता भ्यालेन्सियाको मैदानमा कहिल्यै क्लिन सिट राख्न सकेको छैन।



Enter Kantipur TV HD
Advertisement