ओलम्पिक कमिटीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिक कमिटीलाई कारबाही गर्न लोकतान्त्रिक खेलकुद संघको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन लोकतान्त्रिक खेलकुद संघले अवैधानिक चुनाव गर्ने नेपाल ओलम्पिक कमिटीलाई कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । संघले आज पत्रकार सम्मेलन गरेर सरकारलाई कारबाहीको लागि दबाब दिएको बताएको हो ।

साथै उसले अदालतलाई पनि ओलम्पिक कमिटीको अवैधानिक चुनावबारे ध्यानाकर्षण गराउन चाहेको बताएको छ । गत पुस १३ गते ओलम्पिक कमिटीले अनलाइनबाट चुनाव गरेको बताएको थियो । पाटन उच्च अदालत र सर्वोच्च अदालतले ओलम्पिक कमिटीको चुनाव नगर्न अन्तरिम आदेश दिएको भए पनि कमिटीले ओलम्पिक चार्टर अनुसार ठीक छ भनी चुनाव गरेको बताउँदै आएको छ ।

आफ्नो स्वार्थ सिद्धिको लागि लामो समय चिर्वाचन नै नगरेका संघलाई समेत चुनावमा भोट गर्न मान्यता दिइएको थियो । यता नेपालको कानुन अनुसार अवैधानिक भएको कारण कारबाही गर्न संघले माग गरेको हो ।

अदातलको निर्णय समेत अवहेलना गरेको भन्दै खेलकुद संघले ओलम्पिक कमिटी र अपहेलित गर्ने व्यक्तिलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफैं तेस्रो पटक अध्यक्ष बन्नका लागि चुनावको केही दिनअघि विधान संशोधन गरेर चुनाव गराएको भनी अहिले उनको आलोचना भइरहेको छ ।

सात खेल संघहरूले विधान संशोधनको विशेष साधारण सभा र निर्वाचन वहिष्कार गरेको बताएका छन् । २७ संघमध्ये २० भोट पाएर जीवनराम अहिले ओलम्पिक कमिटीको अध्यक्ष बनेको कमिटीले सूचना जारी गरेको थियो । तर सो चुनाव कुनै नेपाली पर्यवेक्षक र मिडिया विनै अपारदर्शी ढंगले गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement