दैलेख । दैलेखको भैरवी गाउँपालिकास्थित जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण अन्तर्गत ड्रिलिङको काम सकिएको छ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि निकै महत्त्वपूर्ण मानिएको ड्रिलिङ कार्य करिब ८ महिनामा सम्पन्न भएको हो ।
अहिलेसम्म भएको अध्ययनले पेट्रोलियम पदार्थ हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका संकेत प्राप्त भइरहेको अन्वेषणमा खटिएका विज्ञहरूले बताएका छन् ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ र नेपाली प्राविधिक सहितको टोली गत वैशाखदेखि दिनरात दुई सिफ्टमा काम गरिरहेका छन् । अन्वेषणका लागि ४ हजार २ मिटर गहिराई खनेसँगै ड्रिलिङको काम सम्पन्न भएको हो । वैशाख २८ गतेबाट सुरू गरिएको ड्रिलिङ ४ महिनामा सक्नुपर्ने भए पनि जमिनमुनिको कडा चट्टानका कारण ढिलो भएको हो ।
सदियौंदेखि अनवरत रूपमा पानीमाथि आगो बल्दै आएको दैलेखको सिरस्थान, नाभिस्थान र पादुका क्षेत्र धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो । वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको यसअघिको अनुसन्धानले देखाइसकेको छ । परीक्षणका लागि पहिलो चरणको ड्रिलिङ सकिएसँगै अब होयल लगिङ मा परीक्षण गर्ने तयारी छ ।
“ड्रिलिङ चाहिँ हामीले परीक्षणका लागि बाटो बनाएको जसरी बुझ्नुपर्छ । अब ड्रिलिङ गरेपछि त्यसबाट संकलन भएका चट्टानका नमूनाहरूको परीक्षण गर्छौं र विभिन्न उपकरणहरू मार्फत परीक्षण कार्य गर्छौं”, खानी तथा भूगर्ग विभागका भूगर्भविद् प्रकाश लुइँटेलले भन्नुभयो ।
पेट्रोलियम पदार्थको अनुसन्धानमा खटिएका विज्ञहरूले २-२ मिटर ड्रिलिङको गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरिरहेका छन् । उक्त परीक्षणबाट प्राप्त भएको विवरणलाई संकलन गरी थप अध्ययनका लागि चीन पठाइने छ । अहिलेसम्म भएको अध्ययनले पेट्रोलियम पदार्थ- प्राकृतिक ग्याँस हुनका लागि तय गरिएका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरू प्राप्त भइरहेका छन् ।
विज्ञहरूले अनुसन्धान तीव्र बनाउँदै जाादा स्थानीय पनि उत्सुक देखिएका छन् । चिनियाँ टोलीले यसअघि सायस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सफलतापूर्वक सम्पन्न गर्दा सबै प्रतिवेदन सकारात्मक आएको छ ।
चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण चीनको जिओलोजिकल सर्भे कम्पनीले गरिरहेको छ । भूगर्भविद्हरूले ४ हजार मिटर गहिराई ड्रिलिङमा भइरहेको अनुसन्धान र अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरेका छन् ।