काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमाले गठबन्धनको सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिमा धकेलिरहेको टिप्पणी गर्नुभएको छ । आइतबार पार्टी कार्यालयमा भएको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले सुशासन, स्थायित्व र सेवा प्रवाहमा सहजता प्रदान गर्ने कुरामा वर्तमान सरकारले दाबी गरे अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो ।
जनताले रास्वपालाई प्रतिपक्षमा बस्नकै लागि पठाएको बताउँदै उहाँले कांग्रेस–एमाले मिल्नुको औचित्य पुष्टि गर्न नसके राजनीतिक वितृष्णाको शृंखला बढ्दै जाने टिप्पणी समेत गर्नुभयो ।
“सुशासन कायम गर्न र सरकारको स्थायित्व कायम गर्न, जनतालाई सेवा सुविधा प्रवाह गर्न जसरी कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्यो भन्ने दाबी थियो । तद्अनुरूप गइदिएको भए हुन्थ्यो । तर त्यस्तो भएन । यो व्यवस्थाको लागि पनि यो राम्रो हो जस्तो मलाई लाग्दैन । कुराहरू राम्रा छैनन् । आशालाग्दा छैनन् । यस्तै रह्यो भने राजनीतिक वितृष्णाको शृंखला त्यो बढ्दै जाने खतरा देख्छु म”, उहाँले भन्नुभयो ।
उहाँले पार्टी सभापति रवि लामिछानेको मुद्दामा न्यायालयमाथि विश्वास रहेको पनि बताउनुभयो । उहाँले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै न्यायालयबाट निष्पक्ष फैसला हुनेमा पूर्णरूपमा पार्टी विश्वस्त रहेको बताउनुभयो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पूर्वगृहमन्त्री समेत रहनुभएका लामिछाने सहितका प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा भइरहेको छ ।