काठमाडौं । लियाम डेलापको असाधारण प्रदर्शनको मद्दतमा इप्स्वीचले प्रिमियर लिगमा पहिलो घरेलु जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा इप्स्वीचले चेल्सीलाई २-० गोलले स्तब्ध पारेको हो । हारले चेल्सीको उपाधि जित्ने सम्भावना घट्दै गएको छ । १२ औँ मिनेटमा डेलापले पेनाल्टीमा गोल गर्दै इप्स्वीचलाई सुरुवाती अग्रता दिलाए ।
बल पोसेसनमा चेल्सीले प्रभुत्व जमाए पनि गोल फर्काउन भने सकेन । जोआओ फेलिक्सले पहिलो हाफमा गरेको प्रयास भिडियो सहायक रेफ्रीले लामो समय जाँच गर्यो र अफसाइड दियो ।
५३औँ मिनेटमा २१ वर्षीय स्ट्राइकर डेलापको पासमा विङ्गर ओमारी हचिन्सनले आफ्नोपूर्व क्लबविरुद्ध गोल गरे ।
जितसँगै इप्स्वीच लेस्टर सिटीलाई पछि पार्दै अंक तालिकाको १८औँ स्थानमा उक्लिएको छ । उसले १९ खेलमा १५ अंक जोडेको छ । रेलिगेसबाट जोगिने योजनामा रहेको इप्सबीच १७औँ स्थानको वुल्भ्सभन्दा एक अंकले पछि छ ।
हारसँगै एन्जो मारेस्काको टोली चेल्सीले लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमायो । १९ खेलमा ३५ अंकसहित चौथो स्थानमा रहेको चेल्सी लिग लिडर लिभरपुलभन्दा १० अंकले पछाडि छ । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटन र एस्टोन भिल्लाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।