काठमाडौं । स्पेनिस फरवार्ड ड्यानी ओल्मोलाई बाँकी सिजनका लागि टिममै राख्न बार्सिलोनाले गरेको अर्को अपिल पनि खारेज भएको छ । ओल्मोलाई रजिस्टर गर्न बार्सिलोनाले गरेको अपिल त्यहाँको स्थानीय अदालतले खारेज गरिदिएको हो ।
बार्सिलोनाले २६ वर्षीय स्पेनिस फरवार्ड ओल्मोलाई जर्मन टोली लाइपजिगबाट अगस्टमा ६० मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, बार्सिलोनाले ला लिगाको तलब क्यापसँग सम्बन्धित प्रतिबन्ध पूरा गर्न नसकेकाले उनी सिजनको पहिलो हाफका लागि मात्र लिगमा दर्ता भएका थिए ।
गत साता एक अदालतले ओल्मोलाई पुनः दर्ता गर्ने बार्सिलोनाको प्रयासलाई अस्वीकार गरेको थियो । अर्को अदालतले पनि सोही निर्णयलाई सदर गरेपछि बार्सिलोना ओल्मोलाई पुरै सिजन टिममा राख्न असफल भएको हो । ओल्मो अब जनवरी एकदेखि बार्सिलोनाबाट खेल्न सक्षम नहुन सक्छन् ।
यसैवर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन सहयोग गरेका ओल्मोले यो सिजन बार्सिलोनाका लागि १५ खेलमा ६ गोल गरेका छन् । बार्सिलोना ला लिगाको तेस्रो स्थानमा छ र शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछाडि छ ।