इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग २-० गोलले पराजित

पुस १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग २-० गोलले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा सन् १९७२ पछि दोस्रो पटक मात्र हराउने क्रममा न्युक्यासलले युनाइटेडविरुद्ध २-० को जित हात पार्‍यो । घरेलु मैदानमा ६० वर्षपछि सबै प्रतियोगितामा लगातार तेस्रोपटक पराजित युनाइटेडले वर्ष २०२४ को अन्त्य हारसहित गर्‍यो ।

सन् १९६२-६३ सिजदेखि म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लगातार तीन खेलमा हार बेहोरेको थिएन । अलेक्ज्याण्डर इसाक र जोएलिन्टनले गोल गरेपछि युनाइटेड स्तब्ध बन्न पुग्यो । न्युक्यासलले प्रिमियर लिगमा पछिल्ला चार खेल जितेको छ ।

खेलको चौथो मिनेटमै इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । न्युक्यासलका लागि १२ गोल गरेका इसाकले पछिल्ला ६ खेलमा ८ गोल गरिसकेका छन् । उनले गोल गरेका ६ खेलमा न्युक्यासल विजयी भएको छ । १९औँ मिनेटमा जोएलिन्टनले गोल गरेपछि भ्रमण टोलीले अग्रता दोब्बर पार्‍यो ।

युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले ३३औँ मिनेटमा कोबी माइनुलाई फरवार्ड जोशुआ जिर्कजीको स्थानमा मैदान प्रवेश गराए । त्यसबाहेक गोल फर्काउन थुप्रै प्रयास गरेका अमोरिमले सफलता भने हात पार्न सकेनन् । जितसँगै लिगको पाँचौँ स्थामना उक्लिएको न्युक्यासलले १९ खेलमा ९ जितसहित ३२ अंक जोडेको छ र समान खेलमा २२ अंक रहेको युनाइटेड १४औँ स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement