काठमाडौं । हेइटीको राजधानी पोर्ट ओ प्रिन्सस्थित देशको सबैभन्दा ठूलो सरकारी अस्पताल पुनउद्घाटन समारोहमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना पत्रकार र एक जना प्रहरी अधिकारी रहेको बीबीसीले जनाएको छ ।
आक्रमणमा अन्य थुप्रै मानिस घाइते भएको जनाइएको छ । अस्पताल पुनः संचालनको घोषणा गर्न सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त आक्रमण भएको हो ।
स्वास्थ्यमन्त्रीको आगमनका लागि पत्रकारहरू प्रतीक्षारता रहेकै वेला उक्त आक्रमण भएको जनाइएको छ । गत जुलाईमा मात्रै सरकारले हिंसात्मक समूहको हातबाट अस्पतालस्थल पुनः आफ्नो नियन्त्रणमा लिएको थियो ।
हेइटीको अन्तरिम राष्ट्रपतीय परिषद्ले दोषीलाई दण्डित गर्ने दृढता व्यक्त गरेको छ । गत अप्रिलमा नयाँ अन्तरिम सरकार गठनका साथै शान्ति सुरक्षा कायम गर्न ६ महिनाअघि देखि केन्याली प्रहरीको नेतृत्वमा अन्तराष्ट्रिय प्रहरी बल परिचालन भए पनि हिंसा रोकिएको छैन । २०२१ मा तत्कालीन राष्ट्रपति जोभेनेल मोइजको हत्या भएयता हेइटी हतियारधारी समूहहरूको हिंसात्मक गतिविधिबाट पीडित रहँदै आएको छ ।
राजधानी पोर्ट ओ प्रिन्सको करिब ८० प्रतिशत भूभाग अहिले पनि हतियारधारी समूहको नियन्त्रणमा रहेको छ । हेइटीमा जारी हिंसामा यस वर्ष मात्रै करिब पाँच हजार मानिसले ज्यान गुमाएको र देश विघटनको संघारमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।