काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
यो लिग चरणको अन्तिम खेल हो । कर्णाली र सुदूरपश्चिमबीचको यस खेलले प्लेअफ पुग्ने र क्वालिफायर खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।
सुदूरपश्चिम रोयल्स ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगिसकेको छ । क्वालिफायर नजिक रहेको दीपेन्द्रसिंह ऐरीको टिमलाई साँघुरो हारले पनि फरक पर्ने छैन । लिगको अन्तिम खेलमा जित हात पार्दै सुदूरपश्चिम क्वालिफायर खेल्ने लक्ष्यमा छ ।
कर्णाली भने अलि बढी दबाबमा हुनेछ । फराकिलो हारले उसको प्लेअफ सम्भावना समाप्त हुनेछ । चौथो स्थानमा रहेको सोमपाल कामीको टिमको ७ खेलबाट ८ अंक छ । यो खेलको नतिजामा काठमान्डु गुर्खाजको पनि नजर रहनेछ । करण केसीको कप्तानीमा रहेको गुर्खाज पनि समान ८ अंकका साथ पाँचौं स्थानमा छ । यदि सुदूरपश्चिमले कर्णालीमाथि ठूलो अन्तरको जित हात पारे काठमान्डुले पनि प्लेअफमा स्थान बनाउन सक्ने समीकरण रहेको छ ।
कर्णाली पछिल्ला चार खेलयता अपराजित छ । यी खेलहरूमा विलियम बोसिस्टोको प्रदर्शन महत्त्वपूर्ण रहँदै आएको छ । सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।