काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।
अब काठमान्डुले जितका लागि १२० बलमा १३९ रन बनाउनु पर्नेछ । प्लेअफको सम्भावना कायमै राख्न दुवै टिमका लागि यो खेल महत्त्वपूर्ण छ । काठमान्डु पाँच खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । पोखरा पनि समान अंकका साथ सातौं स्थानमा छ ।
पोखराका लागि रेमन रिफरले सर्वाधिक ४१ रन बनाए । दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाएनन् ।
बलिङतर्फ करण केसी र रसीद खानले तीनतीन विकेट लिए । जेरार्ड एरास्मस र माइकल लेभिटले एकएक विकेट लिए ।