टस जितेर ब्याटिङ गर्दै चितवन

मंसिर २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
टस जितेर ब्याटिङ गर्दै चितवन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवनले ब्याटिङ रोजेको छ ।

जनकपुर एनपीएलमा प्लेअफमा स्थान सुरक्षित गरेको अहिलेसम्मको एक मात्र टोली हो । चितवनका लागि भने प्लेअफमा पुग्न यो खेल जित्नुको विकल्प छैन । दुवै टिम लिगको आफ्नो अन्तिम खेल खेल्दै छन् ।

तालिकाको चौथो स्थानमा रहेको चितवनको ६ खेलबाट ६ अंक छ । आज जनकपुरलाई पराजित गरे कुशल मल्लको टिमको प्लेअफ सम्भावना बलियो हुनेछ । हिजो भएको खेलमा खराब फिल्डिङका कारण चितवनले विराटनगरसँग ५१ रनको हार बेहोरेको थियो । प्रतियोगितामा उत्कृष्ट सुरूआत गरेको चितवनले मध्यतिर भने लय गुमायो । लगातार तेस्रो हार टारे चितवनले आठ अंक सहित लिग चरण टुंग्याउने छ ।

त्यसपछि अन्य टिमको नतिजा आफू अनुकूल आए प्लेअफमा स्थान सुरक्षित हुनेछ । दबाबमा रहेको चितवनको प्रदर्शन विदेशी खेलाडीमा बढी निर्भर देखिएको छ । ब्याटिङमा रवि बोपारा र बलिङमा सोहेल तन्विर चितवनका मुख्य हतियार हुन् । एनपीएलमा अघि बढ्ने हो भने चितवनका घरेलु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने छ ।

जनकपुर भने क्वालिफायर पुग्न चाहन्छ । चितवनसँगको जितले अनिल साहको टिमलाई शीर्ष दुईमा स्थान पक्का गराउने छ । अहिले सम्म जनकपुरले मात्र एक खेल हारेको छ । ६ खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । पुबुदु दशानायकेको टिम जनकपुरमा लाहिरु मिलान्था, अनिल साह, आसिफ शेख, जिम्मी निसम लगायतको ब्याटिङ लाइन अप छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement