मुस्ताङ । बढ्दो तापक्रम र वर्षा अनि घट्दो हिमपातका कारण उपल्लो मुस्ताङमा समेत पहिला कहिल्यै नफलेका तरकारीहरू फल्न थालेका छन् । खेती प्रणालीमा आएको फेरबदलले उपल्लो मुस्ताङमा बसोबास गर्नहरूको भान्सा नै फेरिएको छ ।
वृष्टि छायाँमा पर्ने हुनाले सुक्खा तथा चिसो हावापानी भएको मुस्ताङका बालुवाले ढाकेका फुस्रा पहाडहरूको बीच रहेका बस्तीमा काउली, ब्रोकाउली, टमाटर, रायो, मुला, गाँजर, फर्सी लगायतका तरकारी लटरम्म फल्न थालेका छन् । पहिला आलु मात्रै फल्ने ठाउँमा अहिले काउली, बन्दा, गाँजर जस्ता न्यानो हावापानीमा हुर्कने तरकारी फल्न थालेका हुन् ।
जलवायु परिवर्तनले तापक्रम बढेपछि जलवायु अनुकूल तरकारी खेती गर्न थालिएसँगै उपल्लो मुस्ताङको परम्परागत खेती प्रणाली नै फेरिएको छ । जलवायु परिवर्तनका अनेक असरमध्ये 'क्लाईमेट जोन सिफ्टिङ अर्थात् बाली हुने क्षेत्र बिस्तारै माथि सर्दै जाने क्रमको प्रत्यक्ष असर उपल्लो मुस्ताङमा देखिन थालेको विज्ञ बताउँछन् ।