अन्तरिक्ष अन्वेषणको हुटहुटी

मंसिर २९, २०८१ |दीपक बन्जारा
अन्तरिक्ष अन्वेषणको हुटहुटी

काठमाडौं । विज्ञान तथा प्रविधिको अभूतपूर्व विकासले मानव सभ्यतालाई नयाँ चुलीमा पुर्‍याएको छ । पृथ्वीभित्रका नयाँ नयाँ रहस्यहरू उजागर भइरहेका छन् भने पृथ्वी बाहिर पनि सभ्यता विकासको सम्भावना खोज्ने प्रयत्न भइरहेको छ । पृथ्वी बाहिरको रहस्य पत्ता लगाउने अन्तरिक्ष विज्ञानसँग सम्बन्धित एउटा विधा हो- रकेट साइन्स ।

यही रकेट साइन्सप्रति मोरङ विराटनगरका आकृत ढुंगेलको गहिरो जिज्ञासा र लगाब छ । यसैबाट प्रेरित भएर उनी रकेट सम्बन्धी कुनै न कुनै खोज र प्रयत्नमा तल्लीन भइरहन्छन् । आकृत नेपाली विद्यार्थीरूले प्रक्षेपण गरेको रकेट ‘गरुडा’ को टोली सदस्य पनि थिए । २०२१ मार्च २० मा नेपाली सेना र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा प्रक्षेपण गरिएको यो रकेटको अवधारणादेखि प्रक्षेपणसम्मको यात्रालाई वैज्ञानिक र विभिन्न संघ संस्थाहरूले समर्थन गरेका थिए । यो प्रक्षेपणका लागि उनीहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बाट अनुदान, राष्ट्रिय युवा परिषद् र नेपाली सेनाबाट सहयोग पनि प्राप्त भएको थियो । त्यही साल धनुषाको धारापानीमा ‘गरुडा’ प्रक्षेपणका लागि आकृतले स्पेसपोर्ट अमेरिका कप २०२१ मा ‘न्यान्सी स्क्वायर टिम स्पिरिट अवार्ड’ पनि प्राप्त गरे ।

आकृत २०७३ सालको राष्ट्रिय मेकानिकल इन्जिनीयरिङ प्रदर्शनीमा विजेता भएका थिए । हाते इशाराबाट चल्ने हेलिकोप्टर, विद्युतीय मोटरसाइकल, क्युब स्याटेलाइट र गृह स्वचालन प्रणाली जस्ता प्रोजेक्टहरू बनाएर उनी प्रदर्शनीको विजेता भएका थिए ।

उच्चशिक्षापछि आकृतले हार्डवेयर नवप्रवर्तन र उत्पादन विकासमा ध्यान केन्द्रित गर्दै काइचो समूहको सह–स्थापना गरे । स्यानिटेरी प्याड भेन्डिङ मेसिन, डिजिटल नाम बोर्ड, पोर्टेबल माइक्रो भेन्टिलेटर र कृषि स्वचालन प्रणाली जस्ता विभिन्न परियोजनाहरूमा पनि काम गरे । पोर्टेबल माइक्रो भेन्टिलेटर ‘श्वास’ उनले कोभिड-१९ महामारीका वेला विकास गरेका थिए ।

आफूभन्दा कान्छा भाइबहिनीहरूलाई नवीन सीप र सोचको विकास गर्न उनले काठमाडौंको बूढानीलकण्ठ स्कुल सहित देशभरका १० हजारभन्दा बढी विद्यार्थीमाझ पुगेर कार्यक्रम ‘स्टिम’ पनि गरे ।

आकृत हाल ‘माच २४ अर्विटल्स’ को सह–संस्थापक र चिफ अपरेटिङ अफिसरको रूपमा कार्यरत छन् । माच २४ अर्विटल्स साना भूउपग्रह प्रक्षेपणमा काम गर्ने नेपाली कम्पनी हो । तर यहाँ हाल रकेटमा मात्र केन्द्रित भएकाले आकृतको अबको लक्ष्य नेपालको पहिलो अन्तरिक्ष स्टार्टअप स्थापना गर्नु हो ।

आकृत भन्छन्, “नास्ट, अन्तरिक्ष विभागसँग हाइब्रिड इन्जिनमा अनुसन्धान र विकासलाई बढावा दिन एलओए (सम्झौता)मा हस्ताक्षर गर्ने प्रक्रियामा छौं । हाम्रो पहिलो हाइब्रिड इन्जिनको डिजाइन पूरा भइसकेको छ र हामीले नेपालको अन्तरिक्ष इतिहासमा महत्त्वपूर्ण कोशेढुंगाको रूपमा यसलाई यसै वर्षभित्र परीक्षण गर्ने योजना बनाएका छौं ।”

पहिलो रकेट प्रक्षेपणका साथ २०८२ सालसम्ममा अन्तरिक्षमा पुग्ने आफूहरूको लक्ष्य रहेको उनी सुनाउँछन्। उनी भन्छन्, “अन्तरिक्ष पहुँचयोग्य बनाएर र प्राविधिक विकासलाई बढावा दिएर नेपाललाई अन्तरिक्ष अन्वेषणको विश्वव्यापी नक्सामा राख्ने लक्ष्य राखेको छौं ।”


Image

दीपक बन्जारा

बन्जारा कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement