काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणमा अब पाँच खेल मात्र बाँकी छन् । तर जनकपुर बोल्ट्स बाहेक अन्य टिमले प्लेअफमा स्थान बनाउन सकेका छैनन् । प्रतियोगिता अघि बढ्दै जाँदा प्लेअफ समीकरण पनि थप पेचिलो बनेको छ । जनकपुरपछि सुदूरपश्चिमको अघि बढ्ने सम्भावना बढी छ । कर्णाली पनि शीर्ष ४ को दाबेदार रहँदा लुम्बिनी बाहेकका अन्य टिम तीव्र प्रतिस्पर्धामा छन् । आज हामी नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्न कुन टिमलाई के आवश्यक छ, चर्चा गर्ने छौं ।
जनकपुर बोल्ट्स एनपीएलको प्रवल दावेदार टोली हो । ६ खेलमा ५ जित र १ हार सहित १० अंक जोडेको जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । चितवन राइनोजसँग खेल्न बाँकी जनकपुरले उक्त खेल जिते शीर्ष २ मा रहँदै क्वालिफायरमा प्रवेश गर्ने छ ।
सुदूरपश्चिम रोयल्स पनि प्रतियोगिताको अर्को दावेदार टोली हो । ५ खेलमा ४ जित र १ हार सहित ८ अंक जोडेर दोस्रो स्थानमा रहेको उसले पोखरा एभेन्जर्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । दुईमध्ये एक खेल जिते प्लेअफमा स्थान पक्का हुनेछ भने दुवै खेल जिते क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ ।
दुवै खेल हारे पनि अन्य टिमको नतिजामा निर्भर रहँदै प्लेअफमा पुग्ने सम्भावना रहने छ । काठमान्डु गुर्खाज, पोखरा र चितवन पनि अधिकतम ८ अंकसम्म पुग्न सक्छन् । तर राम्रो रन रेट रहेको सुदूरपश्चिमले बाँकी दुई खेलमा सामान्य हार बेहोरे पनि रन रेटमा उसलाई पछि पार्न अन्य टिमलाई कठिन हुने छ । कर्णालीले एक खेल बाँकी रहँदै ८ अंक जोडिसकेको छ ।
कर्णाली याक्स पनि प्लेअफको प्रवल दावेदार हो । ६ खेलमा ४ जित र २ हार सहित ८ अंक बनाएको कर्णालीले सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ । यो खेल जिते प्लेअफमा स्थान पक्का हुनेछ भने पराजित भए अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ । कर्णालीले अधिकतम ८ अंकसम्म पुग्न सक्ने टोलीहरूलाई रन रेटमा पछि पार्नु पर्ने छ वा काठमान्डु, पोखरा र चितवनको १-१ हारको कामना गर्नु पर्ने छ ।
६ खेलमा ३ जित र ३ हार सहित ६ अंक जोडेको चितवन राइनोजको पनि प्लेअफ पुग्ने सम्भावना जीवितै छ । उसले जनकपुरसँगको खेल जिते ८ अंक बनाउने छ । त्यसपछि अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ ।
६ खेलमा २ जित र ४ हार सहित ४ अंक जोडेको विराटनगर किंग्स अधिकतम ६ अंकसम्म पुग्न सक्ने भए पनि उसको अन्तिम ४ मा पुग्ने गणितीय सम्भावना भने समाप्त भएको छैन । जनकपुर बोल्ट्ससँग अन्तिम खेल जितेर मात्र विराटनगरका लागि प्लेअफ पुग्न पर्याप्त हुने छैन । उसले चितवन विरुद्ध जनकपुरको फराकिलो जितको कामना गर्नुपर्ने छ भने आफ्नो रन रेटमा सुधार गर्नु पर्नेछ । साथै अन्तिम खेलमा काठमाडौंलाई पराजित गर्दा सुदूरपश्चिमले पोखरालाई हराउनु पर्नेछ ।
यसपछि पनि पोखरा र काठमान्डुको खेल कुनै कारणवश रद्द भए वा दुई बीचको खेलमा नतिजा नआए विजेता टिमलाई रन रेटमा पछि पार्नु पर्ने समीकरण छ ।
५ खेलमा २ जित र ३ हार सहित ४ अंक जोडर छैटौं स्थानमा रहेको काठमान्डु गुर्खाजले २ खेल खेल्न बाँकी छ । पोखरा र विराटनगरसँगको खेल जिते उसले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ । दुईमध्ये एक खेल हारे उसका लागि पनि विराटनगरको जस्तै समीकरण तय हुने छ ।
पोखरा एभेन्जर्सले ५ खेलमा २ जित र ३ हार सहित ४ अंक जोडेको छ । काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी उसका लागि पनि दुवै खेल जितेर अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ ।
७ खेलमा १ जित र ६ हार सहित २ अंक जोडेर प्रतियोगितबाट बाहिरिइसकेको लुम्बिनी लायन्सले सबै खेल खेलिसकेको छ ।