एनपीएल : विराटनगरसँग चितवन ५१ रनले पराजित

मंसिर २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल : विराटनगरसँग चितवन ५१ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ । विराटनगरले आज सम्पन्न दोस्रो खेलमा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको हो । यस जितले आघिल्लो खेलमा पोखरासँग सुपर ओभरमा पराजित विराटनगरको अघिल्लो चरणमा प्रवेश गर्ने आशालाई जिवित पारेको छ ।

टीयू क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय १८१ रन बनाएको थियो । कमजोर सुरुआत गरेको विराटनगरले अन्तिम पाँच ओभरमा उत्कृष्ट प्रदर्शन गरेर विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

विराटनगरका लोकेश बम शून्यमा आउट भए । उनलाई रिजन ढकालले बोल्ड गरेका हुन् । दिपक बोहारा चार, स्कट एडवार्ड शून्य र निकोलस क्रितोन ८ रनमा आउट भएपछि भने ब्याटिङमा विराटनगर कमजोर देखिएको थियो । उसले ६ ओभर दुई बलमा ३३ रन बनाएको अवस्थामा चार विकेट गुमाएको थियो । त्यसपछि भने मार्टिन गप्टिलले ४५ रन बनाए ।

चितवनका रिजन ढकालले दुई विकेट आफ्नो नाममा गरेर विराटनगरलाई दबाबमा राखेका थिए । मध्यक्रमसम्म किफायति प्रदर्शन गरेका चितवनको बलरहरु सोहेल तान्विर, बसिल हमिद र कुशल मल्लले पनि समान १-१ विकेट लिए ।

तर विराटनगरका लागि बसिर अहमद र राजेश पुलामी मगरले ८३ रनको साझेदारी गरे । बसिरले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा अविजित ६८ रन बनाएका थिए । राजेश पुलामी मगरले २० बलमा ३३ रनको योगदान गरे ।

१ सय ८२ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनाउन सक्यो । उसका लागि हसन इसाखिलले ५, सन्तोष कार्कीले २८ र रवि बोपाराले २० रनको योगदान दिए । बासिल हमिद १ रनमा कप्तान सन्दीप लामिछानेको सिकार भए । चितवनका कप्तान कुशल मल्लले २५ रन मात्र बनाउन सके । अमर रौतेलाले सर्वाधिक ४२ रनको योगदान दिए पनि जितका लागि प्रयाप्त भएन ।

विराटनगरका लागि सन्दीपले २ विकेट लिए । क्रिस सोल, बसिर अहमद, सुबास भण्डारी र लोकेश बमले समान १-१ विकेट लिए । यस जितसँगै विराटनगरको प्लेअफ पुग्ने आशालाई जिवित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement