काठमाण्डु गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
 काठमाण्डु गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई एक सय १२ रनको सामान्य लक्ष्य दिएको छ । चितवनका बलर सामु गुर्खाजका ब्याटरले संघर्ष गरे । कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । पेस बलर सोहेल तन्विरले पाँच विकेट लिए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे । गुर्खाजले २० ओभरमा नौ विकेट गुमाएर १ सय ११ रन जोड्यो । टीयूमा बिहानको खेलमा टसले महत्वपुर्ण भूमिका खेल्ने गर्छ । पेस बलर तन्विरले त्यसको भरपुर फाइदा उठाए ।

गुर्खाजले दोस्रो ओभरमानै ओपनर स्टिफन इस्किनाजीलाई गुमाएको थियो । उनी मात्र दुई रनमा तन्विरको बलमा क्याच आउट भए । अमर रौटेलाले क्याच लिएका थिए । अर्का ओपनर माइकल लेभिटले आक्रमक ब्याटिङ गर्दै गुर्खाज समर्थकलाइ उत्साहित पारे । तन्विरलाई उनले लगातार दुई चौका प्रहार गरे । तर उनी १६ बलमा २५ रनमा क्याच आउट भए । यो विकेट पनि तन्विरकै नाममा रह्यो ।

दीपक बोहराले क्याच लिएका हुन् । अर्का विदेशी खेलाडी जेरार्ड इरास्मसको विकेट कुशलले लिएपछि गुर्खाज संकटमा परेको थियो । इरास्मस चार रनमा मैदान बाहिरिए । भिम सार्कीलाई पनि तन्विरले एक रनमा एलबीडब्लू धरापमा पारे । त्यतिबेला गुर्खाजको स्कोर बोर्डमा ३४ रन चार विकेट थियो । त्यसपछि शंकर राना र सुमित महर्जनले इनिङस सम्हाल्ने प्रयास गरे । उनीहरुबीच २९ रनको साझेदारी भएको थियो ।

रौटेलाले आफ्नो पहिलो स्पेलमा नै रानालाई १६ रनमा कट बिहाइन्ड आउट गरेर गुर्खाजमाथि दबाब बनाए । चार रन जोडेका रासिद खानले लुक बेन्केन्स्टाइको बलमा शरद भेषवाकरको हातमा क्याच थमाए । ४१ बलमा २९ रन बनाएका सुमित महर्जनाई रिजन ढकालले बाहिर पठाए ।

गुर्खाजको इनिङसमा उनले बनाएको रन उच्च हो । कप्तान करण केसी र साहब आलम एक-एक रनमा आउट गर्दै तन्विरले पाच विकेट पूरा गरेका थिए । जारी एनपीएलमा एकै इनिङसमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । डान डौथवेट १९ रनमा अविजीत रहे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.